यसकारण हरिशयनी एकादशीलाई विशेष मानिन्छ

 साउन ६, २०७५ आइतबार ६:५७:१८ | बलराम उपाध्याय खकुरेल
unn.prixa.net

हिन्दु धर्ममा एकादशी व्रत महत्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष २४ वटा एकादशी पर्दछन् । जुन वर्ष अधिकमास पर्छ त्यस वर्षमा २६ वटा एकादशी पर्दछ । असार शुक्ल पक्षको एकादशीलाई देवशयनी एकादशी भनिन्छ । यस बाहेक यस एकादशीलाई हरिशयनी, दवोत्थानी, पद्मा आदि नाम पनि दिइएको छ ।

ग्रहहरुका राजा सूर्य मिथुन राशिमा आएको समयमा देवशयनी एकादशी पर्दछ । आजको दिनदेखि ४ महिनासम्मको समयलाई चतुर्मासको समय मानिने भएकाले आजदेखि चौमासा आरम्भ भएको छ ।

आजको दिनको एक रोचक प्रसँग छ । त्यो हो, आजदेखि भगवान विष्णु क्षीरसागरमा गएर सुत्ने धार्मिक मान्यता छ । आजको दिनदेखि सूर्य तुला राशिमा जाने कात्तिक महिनासम्म भगवान विष्णु सुत्नुहुन्छ । कात्तिकमा भाइटिकापछि आउने एकादशी अर्थात कात्तिक शुक्ल एकादशीमा हरिवोधिनी एकादशी पर्दछ । यही हरिबोधिनी एकादशीलाई नै आजको दिन सुत्नुभएको भगवान् विष्णु उठ्ने दिन मानिन्छ ।

पुराणका प्रसङ्गहरुका अनुसार आजको दिनदेखि ४ महिनासम्म भगवान विष्णु पाताल लोकमा राजा बलिको ढोकामा बसी कात्तिक शुक्ल एकादशीको दिन फर्किने उल्लेख छ । त्यस कारण नै आजको दिनलाई हरिशयनी र कात्तिक शुक्ल एकादशीलाई प्रबोधिनी एकादशी भनिन्छ । यसैले नै यो ४ महिनाको समयमा व्रतबन्ध, विवाह, मन्त्र लिने कार्य, गृहप्रवेश, मन्दिरको प्राण प्रतिष्ठा लगायतका कार्यहरु निषेध गरिएको छ । भविष्य पुराण, पद्म पुराण तथा श्रीमद्भागवत महापुराण लगायतका ग्रन्थहरुमा हरिशयन गर्नुलाई योगनिद्राको रुपमा व्याख्या गरिएको छ ।

संस्कृतमा हरि शब्द सूर्य, चन्द्रमा, वायु, विष्णु आदि अनेक अर्थमा प्रयुक्त हुन्छ । हरिशयनका तात्पर्य यो ४ महिनामा बादल र वर्षात्का कारण सूर्य र चन्द्रमाको तेज क्षीण हुनुको नै प्रतीक मानिन्छ । निरन्तर वर्षा र पानीको कारण पित्तरुपी अग्नि कमजोर र शान्त हुनाले शारीरिक शक्ति क्षीण हुनुका साथै शक्ति कमजोर बन्दछ ।

वैज्ञानिक खोज तथा अनुसन्धानका अनुसार पनि यो ४ महिनामा विशेष गरेर वर्षा ऋतुमा बिभिन्न प्रकारका किटाणु र सूक्ष्म रोगका जन्तुहरु उत्पन्न हुन्छन् । पानी बढी पर्ने र सूर्यको तेज पृथ्वीमा थोरै माात्र आउने भएकाले यस समयमा किटाणुहरुको नकारात्मक प्रभाव बढी हुन्छ । त्यसकारण यस समयमा खानपान तथा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु पर्दछ ।

धार्मिक शास्त्रहरुका अनुसार आषाढ शुक्ल पक्षको एकादशीका दिन भगवानले दुष्ट राक्षस शंखासुरको वध गर्नुभएको थियो । त्यसकारण आजको दिनदेखि नै कात्तिक शुक्ल एकादशीसम्म भगवान क्षीर सागरमा शयन गर्नुहुन्छ । आजको एकादशीको बारेमा पुराणमा अन्य प्रसङ्गहरु पनि बताइएको छ ।

भगवान् विष्णुले दैत्यहरुलाई नियन्त्रण गर्न वामन अवतार लिनुभएको थियो । वामन भगवानले राजा बलीको यज्ञमा गइ ३ पाइला जमिन माग्नुभयो । बलीले संकल्प गरी दिएपछि विशाल रुप बनाई पहिलो पाइलाले सम्पूर्ण पृथ्वी, आकाश र सबै दिशा, दोश्रो पाइलाले स्वर्ग ढाक्नुभयो । तेश्रो पाइला कहाँ राँखु भनेर माग्दा बलीले आफ्नो शिरमा राख्न लगाउनुभयो । बलीको यस्तो उदार दानलाई भगवान्ले मुक्तकण्ठले प्रशंसा गरि सुतल लोकको अधिपति बनाएको प्रसँग छ ।

त्यसपछि खुशी हुँदै भगवानले आशीर्वाद दिंदै भन्नुभयो, ‘बली ! वर माग ।’ राजा बलीले भने, ‘सधैँ मेरो सुतललोकमा बस्नुहोस् ।’ भगवानले बलीलाई दिएको यही वरदानका कारण नै आषाढ शुक्ल एकादशी अर्थात् आजकै दिनदेखि बलीको ढोकामा बस्न थाल्नुभयो । 

लक्ष्मीले गई बली राजासँग विष्णुलाई मुक्त गर्न अनुरोध गर्नुभयो । त्यसपछि ब्रह्मा, विष्णु र महादेव तीन देवता नै प्रत्येक वर्ष राजा बलीको ढोकामा ४÷४ महिना बस्न थाल्नुभयो । हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्म भगवान विष्णु, त्यसपछि शिवरात्रीसम्म भगवान शिव र शिवरात्रीदेखि हरिशयनी एकादशीसम्म ब्रह्माजी सुतल लोकमा गएर बस्ने गर्नुहुन्छ । 

हरिशयनी एकादशीको माहात्म्यका अनुसार चक्रवर्ती सम्राट् राजा मान्धाताको प्रसंग आउँछ । अत्यन्त राम्रोसँग राज्य सञ्चालन गरेका धार्मिक राजा मान्धातको राज्यमा एकपटक ठूलो अनिकाल पर्यो । उनको राज्यमा ३ वर्षसम्म खडेरी पर्यो, वर्षा भएन, पानि बिना राज्यमा हाहाकार भयो । कसैले पनि अन्न उत्पादन गर्न पाएनन्, यज्ञहरु पनि भएनन् । 

एकदिन सबै प्रजाहरु मिली राजालाई गएर भने, ‘खडेरीले हामी मर्ने भयौं, हाम्रो रक्षा गर्नुहोस् ’। कसरी यो समस्या समाधान गर्न सकिन्छ भनेर राजा चिन्तित भए । सैनिकहरुलाई साथ लिइ ऋषिहरुको खोजीमा हिँडेका राजाले कुनै जंगलमा अङ्गिरा ऋषिलाई भेट्नुभयो । ऋषिको सल्लाह अनुसार नै  राजा मान्धाताले पनि आषाढ शुक्ल पक्षमा पर्ने देवशयनी एकादशी व्रत विधिविधान पूर्वक गर्नुभयो । 

राजा तथा प्रजा सबैको पुण्यको प्रतापले गर्दा राज्यमा वर्षा भयो र सबै प्राणीहरुले आनन्दको अनुभूति गर्न पाए । यस्तै बिभिन्न विशेषताहरुका कारण आजको एकादशीलाई विशेष दिन मान्ने गरिन्छ । 
 

अन्तिम अपडेट: भदौ २९, २०७५

तपाईको प्रतिक्रिया