आज राति 'पेनम्ब्रल' चन्द्रग्रहण : खण्डग्रास वा खग्रास हाेइन !

 पुस २५, २०७६ शुक्रबार १०:३२:१७ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – शुक्रबार राति चन्द्रग्रहण लाग्ने खगोलविद्ले बताएका छन् । राति १० बजेर ५२ मिनेटमा सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्य हुने र राति २ बजेर ५७ मिनेटमा सकिने नेपाल एस्ट्राेनाेमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर 'पेनम्ब्रल' चन्द्रग्रहण भएकाे उहाँले बताउनु भयो । यो ग्रहणको बेलाका तस्बिरको वैज्ञानिक परीक्षण गर्न वैज्ञानिकका लागि महत्पूर्ण हुने उहाँले बताउनु भयो ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा पर्दा पृथ्वीको छाँया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।

तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने आज चन्द्रग्रहण नलाग्ने दाबी गरेको छ । समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले समितिमा पनि यसबारेमा छलफल भएको तर आज चन्द्रग्रहण नलाग्ने निष्कर्ष निकालिएको बताउनु भयो ।

यो ग्रहण नाङ्गो आँखाले छुट्याउन नसकिने भएकाले पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा नगरिएको एस्ट्राेनोमिकल सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । 

के हो 'पेनम्ब्रल' चन्द्रग्रहण ?

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छाँया दुई प्रकारको हुन्छ– सघन तथा बिरल ।

यदि चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छायाँमा पर्दा 'पेनम्ब्रल' चन्द्रग्रहण हुने सोसाइटीका अध्यक्ष भट्टराईको भनाइ छ । 

यो वर्ष कति वटा ग्रहण लाग्दै छन् ?

सन् २०२० मा दुई वटा सूर्यग्रहण र चार वटा चन्द्रग्रहण लाग्ने नेपाल एस्ट्राेनोमिकल सोसाइटीले जनाएको छ । जसमध्ये नेपालबाट चार वटा मात्रै देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । 

पहिलो सूर्यग्रहण २०७७ साल असार ७ गते आइतबार लाग्नेछ । अफ्रिकाबाट सुरु भई एसियामा आएर सकिने वलय सूर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्रै देखिनेछ । नेपालमा बिहान १० बजेर ५३ मिनेटमा सुरु हुने खग्रास सूर्यग्रहण दिउँसो १२ बजेर ४१ मिनेटमा मध्य हुने र दिउँसो २ बजेर २४ मिनेटमा सकिनेछ ।

यस्तै २०७७ मङ्सिर २९ गते सोमबार लाग्ने सूर्यग्रहण भने नेपालबाट नदेखिने उहाँले बताउनु भयो । 

यसैगरी २०७७ जेठ २३ गते शुक्रबार चन्द्रग्रहण लाग्नेछ । राति ११ बजेर ३० मिनेटमा सुरु हुने ग्रहण १ बजेर ९  मिनेटमा मध्य भइ राति २ बजेर ४९ मिनेटमा सकिनेछ । यो चन्द्रग्रहण पनि 'पेनम्ब्रल' चन्द्रग्रहण हो ।

यस्तै २०७७ असार २१ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट नेदेखिने अध्यक्ष भट्टराईले बताउनु भयो । 

यस्तै मङ्सिर १५ गते सोमबार लाग्ने चन्द्रग्रहण भने निकै छोटो समय देखिनेछ । यो ग्रहण चन्द्रोदय हुनुअघि नै सुरु भइसक्ने र केही समयमै सकिने भएकाले कुनै डाँडामा गएर हेर्न सकिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया