दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि सिप्रदीकाे ६ महिने तालिम

 पुस २७, २०७६ आइतबार ९:३२:२७ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै - सिप्रदी ट्रेडिङ प्रालिले चौथो ब्याचका लागि ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम गर्दैछ । तालिम सिप्रदीको तालिम केन्द्र काठमाण्डौको चन्द्रागिरीमा आउने फेब्रुअरीमा सुरु हुँदैछ ।

तालिम कार्यक्रममा सहभागी हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुस २९ गतेसम्ममा सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा दरखास्त दिन सक्नेछन् ।

यो निःशुल्क तालिममा काठमाण्डौ उपत्यकाभन्दा बाहिरका नेपालगञ्ज, महेन्द्रनगर, दाङ, सुर्खेत, इटहरी, विर्तामोड, हेटौँडा, वीरगञ्ज, र त्रिशूलीका प्रशिक्षार्थीलाई विशेष प्राथमिकता दिनेछ ।

तालिम अवधिभर प्रशिक्षार्थीलाई तालिम भत्ता दिनुका साथै तालिमपछि उत्कृष्ट एवं सफल प्रशिक्षार्थीलाई सिप्रदीले नेपालभरि फैलिएका आफ्ना नेटवर्कको विभिन्न वर्कशपहरुमा रोजगारीको अवसर दिनेछ । 

तालिममा सहभागी हुन आवश्यक योग्यता

गाडी चलाउने तथा मर्मत गर्नेले इलेक्ट्रिक सर्किट डायग्राम, कम्प्युटर, म्यानुअलमा लेखिएका कुरा बुझ्न सक्ने हुनुपर्छ । अध्ययन वा तालिमबिना प्राविधिक विषय बुझ्न सजिलो छैन । नेपालका धेरैजसो सवारी चालक र वर्कशपमा काम गर्ने प्राविधिक अध्ययनभन्दा अनुभवले यस क्षेत्रमा आएका छन्।

तर पछिल्लो समय पढेर वा सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षा लिएर यो क्षेत्रमा आउनेको संख्या पनि बढ्दै छ । प्रविधिको प्रयोगलाई बढाएर मोटरको मर्मतको कामलाई थप सहज र सम्मानजनक बनाउन उनीहरुले कसरत गरिरहेका छन् । अहिले नयाँ प्रविधिमा आधारित गाडीहरु भित्रिने क्रम बढेकाले पढेका जनशक्ति नै चाहिने अवस्था बनिरहेको छ ।

नपढेकाहरु प्रविधिमा ‘अपडेट’ हुन नसक्ने भएका कारण तालिम लिएका वा पढेका जनशक्तिको माग बजारमा बढ्दैछ । त्यसैले सिप्रदीको तालिम कार्यक्रम अन्तर्गत १८ वर्ष पूरा भएर २५ वर्ष ननाघेका अटोमोबाइल विषयमा टीएसएलसी (प्राविधिक एसएलसी ) उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरेको र राष्ट्रिय सिप परीक्षण समितिबाट अटोमोबाइल विषयमा लेभल वान र टु उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनीले आग्रह गरेको छ । 

तालिमको उद्देश्य

टाटा गाडीका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा लामो समयदेखि टाटाका गाडी बिक्री गरिरहेको छ । कारदेखि सर्भिस भेहिकल बजारमा उपलब्ध भएकाले सबै वर्गका मानिसको पहुँचमा टाटा पुग्न सकेको छ । सिप्रदीले टाटाको उत्पादन बेच्नुका साथै उपकरण बनाउन र सञ्चालन गर्नेगरी दक्ष प्राविधिक जनशक्ति विकास गर्ने काम गर्दै आएको छ ।

कम्पनीले गाडी खरिद गर्ने ग्राहकको सन्तुष्टिमा विशेष ध्यान दिने गरेको छ । त्यसैले कम्पनीले सिप्रदी ट्रेडिङ प्रालिअन्तगर्तको सिप्रदी ट्रेनिङ सेन्टर काठमाण्डौ, चन्द्रागिरीमा चालक र गाडी बनाउने मेकानिकहरुलाई तालिम प्रदान गर्दै आएको छ भने बेलाबखत यस क्षेत्रमा काम गर्न इच्छुकलाई पनि तालिम दिनको लागि दरखास्त आह्वान गरिरहेको हुन्छ ।

अटोमोबाइलको नेपाली बजार विस्तार भएसँगै यो क्षेत्रमा रोजगारीको सम्भावना पनि विस्तार हुँदै गएको छ ।

बढ्दो प्रतिस्पर्धामा आफ्नो उत्पादनलाई ग्राहकसमक्ष पुर्‍याउन कम्पनीहरू सधैं दक्ष जनशक्तिको खोजीमा रहेको अहिलेको अवस्थामा सिप्रदी ट्रेनिङ सेन्टरले टाटाका लागि आवश्यक जनशक्ति मात्रै उत्पादन नगरी सम्पूर्ण अटोमोबाइल्स क्षेत्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सहयोग गरेको छ ।

अटोमोबाइलल्सको क्षेत्रमा सिप्रदीले दक्ष जनशक्ति उत्पादन कसरी गर्छ ?

सन् २००८ मा स्थापना भएको ट्रेनिङ सेन्टरले कम्पनीका कर्मचारी र कम्पनीभन्दा बाहिरका व्यक्तिसमेत गरी अहिलेसम्म २७ हजारभन्दा बढीलाई तालिम दिइसकेको छ । सिप्रदीले सुरक्षा निकाय, सरकारी निकाय, सवारी चालक, स्थानीय वर्कसपका प्राविधिक, शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी लगायतलाई अटोमोबाइल्स् सम्बन्धी तालिम दिँदै आएको छ ।

मेशिनरी वस्तु भएकाले जुनसुकै ठाउँ र समयमा गाडीमा खराबी आउन सक्ने हुँदा सवारी चालक र प्राविधिकलाई तालिम दिने व्यवस्था मिलाइएको छ ।

अटोमोबाइल्स क्षेत्रमा बढ्दो प्रतिस्पर्धासँगै निर्माता कम्पनीले आफ्ना उत्पादनमा नयाँ–नयाँ प्रविधि विकास गर्दै आएका छन् । नयाँ प्रविधिका गाडी चलाउन तथा मर्मतसम्भारका लागि प्रविधिसँग अभ्यस्त हुन जरुरी हुन्छ ।

ट्रेनिङ सेन्टरमार्फत चालक र प्राविधिकलाई नयाँ प्रविधिसँग अभ्यस्त बनाउने तिरकाबारे सिप सिकाइने गरिएको छ । गाडी बनाउने र चलाउने  सबैलाई प्रविधिमैत्री बनाउने काम ट्रेनिङ सेन्टर मार्फत भइरहेको छ। 

यसैगरी कम्पनीले अटो मोबाइल्स् क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्न ‘ट्रेनिङ अन ह्वील’को पनि व्यवस्था गरेको छ । यो कार्यक्रमअन्तर्गत ट्रेनिङ लिनेले नजानेसम्म र सिकेका कुरा व्यवहारमा उतार्न सक्ने नभएसम्म प्रशिक्षकले सिकाइरहने प्रबन्ध मिलाइएको छ ।

कम्पनीले यो कार्यक्रममार्फत सवारी चालक र प्राविधिकलाई गाडीमै राखेर तालिम दिने गरिएको छ । प्रविधिको विकाससँगै नयाँ नयाँ गाडी भित्रिने क्रम जारी भएसँगै चालक तथा प्राविधिकलाई बजारमा भित्रिएका गाडीसँग अभ्यस्त गराउन कम्पनीले ट्रेनिङ अन ह्वील कार्यक्रम ल्याएको हो ।

(सिप्रदी ट्रेनिङ सेन्टरका तालिम व्यवस्थापक दिपेश पौडेलसँग कुराकानीको आधारमा )

अन्तिम अपडेट: बैशाख ४, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया