भारतकाे उत्तरप्रदेशमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको ज्यान गयो

 पुस २६, २०७६ शनिबार ८:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको ज्यान गएको छ । अन्य २१ जनालाई बसबाट उद्धार गरिएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस कन्नौजको गुरसहाय गञ्जबाट जयपुरका लागि छुटेको थियो ।   

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनामा परि घाइते भएकाहरुको उपचार सरकारले गर्ने बताउनुभएको छ । सरकारले घाइतेको उपचारका लागि ५०/५० हजार र मृतकका परिवारलाई २/२ लाख रुपैयाँ राहतस्वरुप दिने उहाँले घोषणा गर्नुभयो । साथै मुख्यमन्त्री आदित्यनाथले घटनाको अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिनुभएको छ ।   

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा मृत्यु भएका परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गर्नुभएको छ । ट्वीट गर्दै उहाँले घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । 

ट्रकसँग एसीयुक्त बस ठोक्किदा दुवैमा आगो दन्किएको थियो । बसमा गुरसहायगञ्जका २६ जना र छिबरामउका १७ जना यात्री चढेको कन्नौजका जिल्लाअधिकारी रविन्द्र कुमारले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया