प्रदेश ३ काे राजधानी र नाम ताेक्न मतदान हुँदै

दुई तिहाइभन्दा बढी मतले प्रदेशकाे नाम वाग्मती र राजधानी हेटौँडा पारित गरिँदै

 पुस २७, २०७६ आइतबार ८:२६:२८ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा – प्रदेश नम्बर ३ प्रदेश सभाबाट आइतबार औपचारिकरुपमा प्रदेशकाे नाम र राजधानी तोकिने भएको छ ।

प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा कायम गर्न आइतबार बिहान ९ बजेदेखि मतदान हुँदैछ । प्रदेश सभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेश ३ ले नाम र स्थायी राजधानी पाउने भएको छ ।

यसअघि प्रदेश सभाले नाम र राजधानी तोक्न नसकेकाे भन्दै जनगुनासो आइरहेकाे थियो । प्रदेश सभामा पनि यसकै विषयमा धेरै कुरा उठ्ने गरेको थियो । 

सभामुखभन्दा बाहेक एक सय ५ जना सांसद्ले स्थायी राजधानी हेटौँडाको पक्षमा मतदान गर्ने पक्का भएको छ । प्रदेशको नाम वाग्मतीमा स्वतन्त्र सांसद प्रेम तामाङ बाहेक सबै दलका सांसद एकमत भएका छन् । 

नेकपा र काङ्ग्रेसका सांसदले ’फ्लोर क्रस’ नगरेमा दुई तिहाइभन्दा पनि बढी मतले हेटौँडा र राजधानी पारित हुने अवस्था छ । दुवै दलमा हेटौँडा र वाग्मती हुँदैन भन्दै असन्तुष्टि जनाए पनि प्रस्ताव दर्ता र पेस गर्दा सबैले समर्थन गरेका छन् । त्यसैले पनि ’फ्लोर क्रस’ हुने सम्भावना न्यून रहेको छ ।

प्रदेश ३ मा एक सय १० जना सांसद् छन् । जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि एक सय ९ जना रहेका छन् । यीमध्ये नेकपाका सांसद् ७९ जना छन् । याे सङ्ख्या राजधानी पारितका लागि दुई तिहाइ हाे । यसमा नेपाली काङ्ग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १–१ मत जोड्दा राजधानी हेटौँडाको पक्षमा एक सय ५ मत पुग्छ । 

राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवेकशीलको ३ मत मात्र रहेको छ । एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरिसक्नु भएकाे छ । राजधानी र नाम प्रदेश सभाबाट पारित गर्न ७४ मत आवश्यक पर्छ । प्रदेशकाे नाम वाग्मतीका लागि स्वतन्त्र सांसद्बाहेक अरूको समर्थन रहेकाले एक सय ८ मत नै रहेको देखिन्छ ।

प्रदेशसभा सचिवालयले वाग्मती नाम दिएको समयमा सबै दलको तर्फबाट एउटै मात्रै नाम दर्ता भएपछि वाग्मती हुने पक्का भएको हो । प्रदेश ३ को नामको लागि प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्र बानियाँले प्रस्ताव गर्नु भएको थियो । समर्थकमा नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फूयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य रहेका छन् । नाममा नेमकिपाले पनि समर्थन गरेको छ । 

प्रदेश सभामा १३ जिल्लाः मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाण्डाै, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरी एक सय १० जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश ३ मा पहिलो हुने निर्वाचनबाट निर्वाचित ६६ जना,  समानुपातिकबाट ४४ जना,  दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, काङ्ग्रेसबाट २२ जना,  विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा (संयुक्त) बाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र  १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ ।

प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संविधानमा व्यवस्था रहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया