वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभाग र प्रहरीबीच सहकार्य

 पुस २७, २०७६ आइतबार १८:२६:३५ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा हुने ठगी रोक्नको लागि वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीच समझदारी भएको छ ।

वैदेशिक रोजगारीको नाममा हुने मानव बेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न र पीडितलाई संरक्षण तथा पुनस्र्थापना गरी वैदेशिक रोजगारीलाई शोषणरहित बनाउने उदेश्यका साथ आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यसबाट वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीको आ–आफ्ना क्षेत्राधिकारका विषय सुक्ष्म रुपमा अध्ययन, अनुसन्धान तथा अन्वेषणको लागि सहकार्य गर्न सजिलो हुने अपेक्षा गरिएको विभागले जनाएको छ ।

बिना इजाजत वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने या यस क्षेत्रको ठगीमा संलग्न हुने व्यक्ति, संस्था, फर्म वा एजेन्सीलाई कानूनको दायरामा ल्याउन पनि सजिलो हुने विभागको विश्वास छ ।

वैदेशिक रोजगारीको नाममा हुने मानव बेचबिखनलाई नियन्त्रण गर्न पनि यो सम्झौताले ठूलो भूमिका खेल्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भूसाल बताउनुहुन्छ ।

सम्झौतासँगै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखन सम्बन्धी मुद्दा अनुसन्धानको लागि वैदेशिक रोजगार विभागको अनुसन्धान अधिकृतको सहयोग लिन सक्नेछ । 

त्यस्तै गरी वैदेशिक रोजगार सम्बन्धी मुद्दाको अनुसन्धानमा वैदेशिक रोजगार विभागले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धान अधिकृतको सहयोग लिन सक्नेछ ।

मानव बेचबिखन रोक्नको लागि आवश्यक परेको खण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सूचना तथा स्रोत परिचालन गर्न पनि सकिने विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया