बचत गर्ने बानीको विकास गर्न सनराइज बैंकको नयाँ योजना, माछापुच्छ्रे बैंकको 'किसान कार्ड'

 पुस २८, २०७६ सोमबार ८:३७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नागरिकमा वित्तीय चेतना बढाउन दिएको निर्देशनअनुसार नै सनराइज बैंकले अभियान सुरु गरेको छ ।

सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सनराइज बैंकले ‘रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ । याे खातामा बचत खातामा जसरी नै रकम जम्मा गर्दै जान सकिनेछ भने ब्याज मुद्दती खाता सरह पाइनेछ । आवश्यकताअनुसार एकदेखि पाँच वर्षका लागि बचत गर्न सकिने याे योजनामा दैनिक, साप्ताहिक वा मासिकरुपमा रकम जम्मा गर्दै जान सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।   

सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमितरुपमा मुद्दती खातामा जम्मा हुँदै जाने र मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिनेछ । खाताको अर्को आकर्षण भनेको तीन महिनामा प्राप्त हुने ब्याज व्यक्तिगत मुद्दती खाता सरहको उच्च ब्याज पाउनु हो ।

साथै आवश्यक पर्दा खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था छ । बैंकले मुद्दती खातामा ९ दशमलव २५ प्रतिशतमा थप शन्य दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकको किसान कार्ड   

कृषि उपजमा लगानी बढाउने र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ माछापुच्छ्रे बैंकले किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । साना तथा मध्यम आय भएका किसानलाई राहत दिने लक्ष्यका साथ बैंकले सो सेवा सुरु गरेको हो ।   

बैंकले युकेएड सक्षमको ‘एक्सेस टु फाईनान्स कार्यक्रम’ र हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई कार्ड प्रदान गर्ने योजना ल्याएको हो । याे किसान कार्डअन्तर्गत किसानले चार लाख रुपैयाँसम्मको कृषि कर्जा प्राप्त गर्न सक्नेछन् ।   

पहिलो चरणमा हेफर इन्टरनेशनल नेपालसँग आबद्ध बाँके जिल्लाको खजुरा गाउँपालिकामा रहेकाे साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकलाई याे कार्ड प्रदान गरी सेवाको सुरुवात गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । किसान कार्डमार्फत कृषकले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवाबाट आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।  

ग्रामीण क्षेत्रमा रहेका साना किसानलाई व्यवसायमा सहयोेग गरी आयआर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सिर्जना गर्न किसान कार्ड सुविधा ल्याइएको बैंकले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया