गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन महायज्ञ

 पुस २८, २०७६ सोमबार ९:१२:५४ | रासस
unn.prixa.net

चितवन – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन आउँदाे माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ ।

पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन क्रममा छ । महायज्ञ सम्पन्न गर्न प्रदेश सभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मूल समिति गठन गरिएको छ । 

महायज्ञबाट ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिनुभयो । मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहनु हुने छ । रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइँदै छ । पछिल्लो समय रङ्गशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । सहयोग जुट्ने क्रमसमेत निरन्तररुपमा अघि बढेको छ ।     

धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिनुभयो । मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ ।   

रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।रङ्गशालामा नमुना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीन वटा पिच तयार भएर तीनै खेल मैदानमा खेल भएका हुन् । रङ्गशाला सम्पन्न हुँदै गर्दा याे ठाउँ पार्किङ हुनेछ ।   

रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया