महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुन्छ : महामन्त्री कोइराला

 पुस २८, २०७६ सोमबार २०:७:४८ | रासस
unn.prixa.net

नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले १४ औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन झापाले साेमबार विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एक ढिक्का भई अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेसलाई एक ढिक्का बनाएको खण्डमा कसैले हराउन सक्दैन, हाम्रो हार भनेको हामी बिचकै तिक्तता र फुटका कारणले भएको हो ।” उहाँले पार्टी सभापति शेरबहादुर देउवा गुट समातेर सभापति भएको आरोप लगाउनुभयो । गुटभन्दामाथि उठेर सबैलाई समेटर लैजानसक्ने क्षमता पार्टी सभापतिमा नभएको उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले राष्ट्र र पार्टीका लागि देउवासँग नयाँ सपना नभएको उल्लेख गर्दै १४ औँ महाधिवेशनले सक्षम, क्षमतावान र सपना भएको नेतृत्व चयन गर्ने बारेमा रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महतलगायतका नेतासँग छलफल भइरहेको बताउनुभयो ।

महामन्त्री कोइरालाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा नेपाली कांग्रेसका लाखौंँ सफल कार्यकर्ता रहेका र उनीहरुलाई सही ढङ्गले परिचालन गर्न सक्षम नेतृत्व आवश्यक भएकामा जोड दिनुभयो ।

उहाँले पार्टीमा आन्तरिक समस्या भएका कारणले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको स्वीकार गर्नुभयाे । कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान अनुसारको काम नगरेको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया