ए डिभिजन लिग : आर्मी र संकटाबीच एक एक गोलको बराबरी

 पुस २९, २०७६ मंगलबार १८:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र संकटा क्लब एक-एक गोलको बराबरीमा रोकिएका छन् ।

बराबरी गर्दै दुवै टिमले एक एक अंक लिएपछि त्रिभुवन आर्मीले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ । नतिजासँगै आर्मीले १३ अंकसहित शीर्ष स्थानको मछिन्द्रसँग अंक बराबरी गरेको छ । संकटा भने ८ अंकसहित आठौँ स्थानमा रहेको छ ।

दशरथ रंगशालामा पहिलो हाफमा आर्मीले नवयुग श्रेष्ठको गोलको मद्दतले अग्रता लिएको थियो । उनले २९ औंँ मिनेटमा फ्रीकिक मार्फत आएको बेललाई हेड गर्दै गोल गरेका थिए ।

तर दोस्रो हाफको सुरुमै आर्मीलाई धक्का लाग्यो । आर्मीका युद्ध शाही रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित भएको थियो । पहिलो हाफको १० औंँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका युद्धले ५१ औंँ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

त्यसपछि दबाबमा आएका आर्मीलाई संकटाले एक गोल फर्काएको थियो ।

संकटाका अमित तामाङले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । आर्मीका सुमन अर्यालले फल गरेपछि संकटाले पाएकाे पेनाल्टीलाई अमितले गाेलमा परिणत गरे । ८० औंँ मिनेटमा आर्मीका कप्तान भरत खवास नवयुग श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका थिए । तर उनी १ मिनेटमै घाइते हुन पुगे ।

संकटाका लक्ष्मण रुचालले प्रहार गरेको फ्री किक उनको टाउकोमा लागेपछि खवास लडेका थिए । असजिलाे महसुस गरेपछि उनी हिँडेरै मैदान बाहिर निस्किएका थिए ।

त्यसपछि सुरु भएको खेलमा दुवै तर्फबाट कुनै पनि गोल नभएपछि संकटा र आर्मीले एक एक अंक बाँडेका हुन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया