पहिलाे एक दिवसीय : फिन्च र वार्नरकाे शानदार शतकसहित अस्ट्रेलियाद्वारा भा‍रत १० विकेटले पराजित

 पुस २९, २०७६ मंगलबार २१:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले शानदार जित दर्ता गरेको छ ।

मुम्बईमा घरेलु टोली भारतले दिएको २५६ रनको लक्ष्य अस्ट्रेलियाले विकेट नै नगुमाई पुरा गर्‍यो । अस्ट्रेलियाले १० विकेटको जित दर्ता गर्दा ७४ बल बाँकी राखेको थियो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नर र एरोन फिन्चले शतकीय पारी खेले । दुवै खेलाडीले शतक बनाउँदा भारतका कुनै पनि बलर हावी हुन सकेनन् । वार्नरले ६ रन बनाउँदा जीवन दान पाएका थिए । आउट दिइएका उनी त्यतिबेला ‘रिभ्यू’ बाट जोगिएका थिए । त्यसपछि आक्रामक पारी खेल्दै शतक नै बनाए । वार्नर १२८ तथा फिन्च ११० रनमा नट आउट रहे ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले सुरुआत भने राम्रो गर्न सकेन । १३ रन हुँदा पहिलो विकेटको रुपमा रोहित शर्मा आउट भएका थिए । १० रन बनाएका रोहितलाई मिचेल स्टार्कले आउट गरेका थिए ।

त्यसपछि शिखर धवन तथा केएल राहुलले भारतको इनिङ्स उकास्ने प्रयास गरेका थिए । यी दुईबीचमा १२१ रनको साझेदारी भएको थियो । राहुल व्यक्तिगत ४७ रन बनाएर आउट भए । उनलाई एस्टन अगरले आउट गरेका थिए । 

तेस्रो विकेटको रुपमा धवन ७४ रन बनाएर आउट भए । उनलाई प्याट कमिन्सले आउट गर्दै अस्ट्रेलियालाई खेलमा फर्काएका थिए ।

कप्तान विराट कोहली १६ रन जोडेका बेला जाम्पाको बलमा आउट भए भने श्रेयस अय्यर ४ रन बनाए आउट भए ।

ऋषभ पन्त र रविन्द्र जडेजाले ४९ रनको साझेदारी गर्दै २०० रन कटाएका थिए । जडेजा २५ रन बनाउँदै छैटौँ विकेटको रुपमा आउट भए भने त्यसलगत्तै पन्त पनि २८ रन बनाएर पेभेलियन फर्किए । कुलदीप यादव १७ रनमा रन आउट हुँदा शार्दुल ठाकुर १३ रनमा आउट भए । १० रन बनाएका मोहम्मद सामी आउट भएसँगै भारत ४९.१ ओभरमा २५५ रनमा रोकियो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन तथा प्याट कमिन्स र केन रिचर्डसनले दुई-दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया