केसीको पक्षमा नागरिक सत्याग्रह सुरु

 साउन ६, २०७५ आइतबार १५:३८:२९ | उज्यालो सहकर्मी

काठमाडौं – वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै आइतबार काठमाडौंको बसन्तपुरमा सामूहिक नागरिक सत्याग्रह आयोजना गरिएको छ ।

सोलिडारिटी फर डाक्टर केसी अलायन्सको अगुवाइमा बसन्तपुरमा आइतबार बिहान १० बजेदेखि एक दिवसीय सामूहिक नागरिक सत्याग्रह आयोजना गरिएको हो । पछिल्लो पटक २३ दिनदेखि आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीको माग सरकारले बेवास्ता गरेपछि आफूहरु सामूहिक नागरिक सत्याग्रहमा पनि सहभागी हुनु परेको नर्स अलिना श्रेष्ठले बताउनुभयो ।

नर्स अनुजा श्रेष्ठले वरिष्ठ चिकित्सक केसीलाई काठमाडौंमा ल्याउने क्रममा गएको बिहीबार जुम्लामा नर्सहरुमाथि कुटपिट भएकोमा आपत्ति जनाउँदै दोषी प्रहरीमाथि तत्काल कारबाही गर्न पनि माग गर्नुभयो ।

बरिष्ठ चिकित्सक केसीले चिकित्सा क्षेत्रको समग्र विकासका लागि लिएको अडान सही रहेको र उहाँको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सत्याग्रहमा सहभागी भएकाहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन । केसीको माग सम्बोधन गर्न नागरिक समाजका अगुवाहरुले सरकार विरोधी आन्दोलनलाई तीव्रता दिएका छन ।

उनीहरुले शनिबार पनि काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहितको कोणसभा गरी वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिएका थिए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया