आयरल्याण्डकाे नाटकीय जित, विश्व च्याम्पियन वेस्ट इण्डिज ४ रनले पराजित

 माघ २, २०७६ बिहिबार ८:३१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इण्डिज भ्रमणमा रहेको आयरल्याण्डले टी–२० मा नाटकीय जित निकालेको छ । विश्व च्याम्पियन वेस्ट इण्डिजमाथि चार रनको रोमाञ्चक जित निकाल्दै आयरल्याण्डले तीन खेलको सिरिजमा एक–शून्यको अग्रता लिएको छ । 

पउल स्टर्लिङले ४७ बलमा ९५ रन बनाएपछि पहिला ब्याटिङ गरेको आयरल्याण्डले सात विकेटको क्षतिमा दुई सय ८ रन बनाएको थियो । पछिल्ला क्रमका ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न नसके पनि ओपनर स्टर्लिङ र केभिन ओ ब्रइनले पहिलो विकेटका लागि एक सय ५४ रनको साझेदारी गरे ।

याे साझेदारी आयरल्याण्डका लागि कुनै पनि फर्म्याटको क्रिकेटमा सर्वाधिक साझेदारी हो । स्टर्लिङले ६ चौका र आठ छक्का प्रहार गरेका थिए । उनलाई साथ दिएका ओ ब्रइनले पनि ३२ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए ।

बलिङतर्फ वेस्ट इण्डिजका लागि शेल्डन कोट्रेल, ख्यारी पाइरे र ड्वाइन ब्राभोले दुई–दुई विकेट लिए ।

दुई सय ९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले राम्रो प्रदर्शन गरे पनि खेलकाे अन्तिम ओभरमा नाटकीय ढङ्गले पराजित भयाे । आयरल्याण्डका जोशुवा लिटिलले दुई विकेट लिएपछि वेस्ट इण्डिज पराजित भएको हो ।

अन्तिम ओभरमा वेस्ट इण्डिजलाई जितकाे लागि १३ रन चाहिएकाे थियाे र हातमा पाँच विकेट बाँकी थियो । तर लिटिलले २०औँ ओभरको पहिलो बलमा शेर्फान रुथरफोर्डलाई र पाँचौँ बलमा ड्वाइन ब्राभोलाई आउट गरेपछि आयरल्याण्डको जित सुनिश्चित भएको हो । 

यो दुई विकेटसँगै लिटिलले तीन विकेट र क्रेग योङ्ले दुई विकेट लिए । खेलकाे १९औँ ओभर गरेका याेङ्ले पनि उत्कृष्ट बलिङ गरे । उनले जम्मा तीन रन दिँदै एक विकेट पनि हात पारे । 

वेस्ट इण्डिजका लागि इभिन लुइसले २९ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ५३ रन बनाए भने शिमरन हेटमायरले २८, केइरन पोलार्डले ३१, निकोलास पुरन तथा रुथरफोर्डले २६–२६ रन बनाएका थिए ।  

यसअघि भएको तीन एकदिवसीय सिरिज भने वेस्ट इण्डिजले ह्वाइट्वास गरेको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया