पुनर्निर्माणको चार वर्ष : रानीपोखरी, मच्छिन्द्रनाथ र धरहराको काम सुस्त

 माघ २, २०७६ बिहिबार १०:५७:२६ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै – भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको दिन पारेर सम्पदा पुनर्निर्माण अभियान सुरु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङमतीबाट पुनर्निर्माण अभियान एकसाथ घोषणा गर्नु भएको थियो ।

१८औँ भूकम्प सुरक्षा दिवसका अवसरमा शिलान्यास भएका रानीपोखरी र रातो मच्छिन्द्रनाथ मन्दिर अहिलेसम्म बनिसकेका छैनन् । अरु मुख्य सम्पदाको काममा पनि ढिलासुस्ती भइरहेको छ ।

ओलीले अभियान थालेको बुङमती : रातो मच्छिन्द्रनाथको बिजोग

पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले सम्पदा पुनर्निर्माणको घोषणा गरेको ठाउँ हो ललितपुरको बुङमती । तर बुङमतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिर चार वर्षमा पनि बनेन । पुनर्निर्माण अभियान सुरु भएपछि श्रीलङ्का सरकारको आर्थिक सहयोगमा रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो । 

मन्दिर पुनर्निर्माणको जिम्मेवारी प्रेरा, थेगिस र तुलसी कन्स्ट्रक्शन जेभीले लिएको थियो । ठेकेदार कम्पनीले दुई वर्षमा सक्ने गरी चार करोड ७४ लाख रुपैयाँमा ठेक्का पाएको थियो । तर यी तीन कम्पनीले काम गर्न नसकेपछि गएको फागुनमा थेगिसलाई हटाएर प्रेरा र तुलसी कन्स्ट्रकशनलाई मन्दिर निर्माणको जिम्मेवारी दिइएको थियो । प्रेरा र तुलसीले पनि मन्दिरलाई अलपत्र छोडेपछि अघिल्लो महिना प्राधिकरणले ठेक्का नै रद्द गरेको छ । 

अब रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिबाट हुनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिर रानीपोखरीको मोडेलअनुसार पुनर्निर्माण गर्ने निर्णय भएको बताउनु भयो । निर्माण व्यवसायीको बाटो हेरेर बसेको सरकारले चार वर्षपछि बल्ल ठेक्का तोडेर उपभोक्ता समितिलाई दिने निर्णय गरेको छ । 

 

राष्ट्रपतिले शिलान्यास गरेको रानीपोखरी 

२०७२ साल माघ २ गते नै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नु भएको थियो । तर रानीपोखरी पनि अहिलेसम्म बनिसकेको छैन । शिलन्यासपछि तीन वर्षसम्म अलपत्र रानीपोखरी पुनर्निर्माण प्राधिकरणले नै जिम्मेवारी लिएर गएकाे फागुनदेखि काम सुरु भएको हो ।

माघ दोस्रो हप्ताभित्रै पानी राख्ने अनि आउँदो वैशाखसम्म रानीपोखरीको सबै काम सक्ने प्राधिकरणको लक्ष्य छ । पोखरीमा झण्डै तीन करोड लिटर पानी चाहिने अनुमान छ । यति धेरै पानी बोरिङ र इनारबाट तानेर कसरी भरिएला भन्नेमा शङ्का नै छ ।

 

धरहरा 

रानीपोखरी र रातो मच्छिन्द्रनाथ मन्दिर जस्तै बितेका चार वर्षमा धरहरा पनि बन्न सकेन । धरहरा बनाउने चर्चामै भूकम्पपछिका तीन वर्ष आठ महिना बिते । पहिलो पटक सरकारको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा अभियान’ सुरु गरे पनि अभियान भने सफल हुन सकेन । 

२०७२ सालमा भूकम्पले ढलेको धरहरा बनाउन १० महिनापछि अभियान सुरु गरिएको थियो । त्यसपछि विसं २०७३ पुस २१ गते सरकारले धरहरा बनाउन नेपाल टेलिकमलाई जिम्मा दिने निर्णय गर्‍यो । तर टेलिकमले पनि झण्डै १० महिनापछि विसं २०७४ असोजमा धरहराबाट हात झिक्यो । अनि पुरातत्व विभाग, काठमाण्डौ महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कसले नेतृत्व लिने निर्णय गर्न नै समय लाग्यो । 

विवादपछि अघिल्लो वर्षको असोजमा प्राधिकरण आफैले काम सुरु गरी ठेक्का लगाएको हो । अहिलेसम्म धरहराको झण्डै ३५ प्रतिशत काम भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनु भएका राजुमान मानन्धरले बताउनु भयो । 

२२ तला बन्नुपर्ने धरहराको चार तलाको काम सकिएको छ । धरहरा अर्को वर्षसम्म निर्माण गरिसक्ने निर्माण कम्पनीको लक्ष्य छ । जीआईईटीसी रमन जेभीले दुई वर्षमा काम सक्ने गरी अघिल्लो वर्ष असोजमा निर्माणको जिम्मेवारी लिएको हो ।

 

अरु मुख्य सम्पदाको काम

स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तूपा, पाटनको कृष्ण मन्दिर, हनुमान ढोकाको गद्दी बैठक, साँखुको बज्रयोगिनीकाे पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

काष्ठमण्डप, वसन्तपुर दरबार, नुवाकोट दरबार, सिंहदरबार उत्तर, पूर्व, दक्षिण र पश्चिम भागको पुनर्निर्माण भइरहेको छ । अहिलेसम्म गुम्बा तथा बिहार पुनर्निर्माणको काम थालिएको छैन । गुम्बा पुनर्निर्माणका आवश्यक काम अघि बढाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनु भएको छ । 

अझै ३ सय ८१ सम्पदाको काम सुरु हुनै बाँकी

आठ सय ९१ सम्पदामध्ये तीन सय ८७ वटाको मात्रै पुनर्निर्माण सकिएको प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणका अनुसार भूकम्प अति प्रभावित १४ जिल्लाका सात सय ५३ सम्पदामा तीन सय ८७ अर्थात् ५१ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको छ । १ सय २३ वटा सम्पदा पुनर्निर्माणको क्रममा छन् ।

१४ जिल्लाका दुई सय ४३ र भूकम्प कम प्रभावित १८ जिल्लाका एक सय ३८ सहित तीन सय ८१ सम्पदाको काम सुरु गर्न नै बाँकी छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया