प्रदेश-१ मा सस्तोमा खाना खुवाउनेको लहर : इनरुवामा निःशुल्क खाना खुवाउने अभियान सुरु

 माघ २, २०७६ बिहिबार १४:१९:१६ | रासस
unn.prixa.net

सुनसरी - प्रदेश-१ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान सुरु भएको छ । इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान सुरु भएको हो ।

पूर्वका विभिन्न शहर र बजारमा गरिब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा सस्तो दरमा खाना खुवाउने होडबाजी झैँ चल्दा सुनसरीको इनरुवामा भने स्थानीयवासीले बुधबारबाट निःशुल्क खाना खुवाउने अभियान चलाएका हुन् । 

अभियानका लागि सत्य यादवको संयोजकत्वमा स्थानीय समाजसेवी सम्मिलित १० सदस्यीय समिति गठन गरिएको छ । इनरुवा बसचोकमा सुरु गरिएको निःशुल्क भरपेट खाना कार्यक्रम तत्काल एक लाख रुपैयाँबाट थालिएको आयोजक समितिका संयोजक यादवले बताउनुभयो । 

गरिब, असहाय, विपन्न र बेघर भएर सडकमा भौँतारिँदै दिन बिताइरहेका समुदायलाई लक्षित गरी निःशुल्क खानपिनको अभियान सुरु गरिएको हो । प्रारम्भिक तवरमा तीन दिनका लागि भनी अघि सारिएको अभियानमा सहयोगी दाताको संख्या थपिन थालेकाले आफूहरुलाई हौसला मिलेकाे अभियानका संयोजक यादवको भनाइ छ । 

निःशुल्क खाना कार्यक्रममा पुग्ने जोकोहीले दाल, भात, अचार, पापड खान पाउनुका साथै निःशुल्क पानीसमेत पिउन पाउने आयोजकले जनाएको छ । इनरुवामा अभियानको उद्घाटन उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले गर्नुभएकाे हाे ।

केही दिन अगाडि मोरङको विराटनगरमा १० रुपैयाँमा पेटभर खाना खुवाउन थालिएको थियो । 

विराटनगरबाट सुरु भएको यो अभियान अहिले १ नम्बर प्रदेशमा लहरको रूपमा चलेको छ । विराटनगरमा बास्मती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा १ रुपैयाँ तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा २० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी भिखारी वा गरिब व्यक्तिलाई खाना खुवाउन चाहेमा जनही ३० रुपैयाँ तिर्नुपर्ने नियम बनाइएको छ । 

दमकको मुख्य चोकमा रहेको गोरखा डिपार्टमेन्ट स्टोर अगाडिसमेत मासुभात १० रुपैयाँमा र सादा खाना ५ रुपैयाँमा खुवाउन सुरु भएको छ । भद्रपुर र विर्तामोडमासमेत सस्तो खाना खुवाउने अभियान सुरु भएको छ । कतै १० रुपैयाँमा त कतै ५ रुपैयाँमा खाना खुवाउने अभियान सुरु भएको बेला सुनसरी सदरमुकाम इनरुवामा भने निःशुल्क खाना खुवाउने अभियान सुरु भएको हो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया