सीताको मोबाइल स्क्रिनमा ‘निष्ठुरी’ श्रीमानको फोटो

 साउन ६, २०७५ आइतवार १६:१३:३५ | मोहन पौडेल

काठमाडौं – हातमा भएको मोबाइलको बटन थिच्ने बित्तिकै एकजना पुरुषको फोटो देखियो । त्यो फोटो चाहिँ कसको ? प्रश्न सुनेपछि अघिदेखि अँध्यारो भएको सीताको अनुहार झनै अँध्यारो भयो । एकछिन बोल्न नसकेकी सीताले मसिनो स्वरमा भन्नुभयो ‘उसैको हो ।’

सीता साहले ‘उसै’ भनेका व्यक्ति हुन्, श्रीमान् अरुणकुमार साह । कहिलेकाहीँ त सीतालाई पनि श्रीमानसँग धेरै चित्त दुख्छ, तर त्यो धेरैबेर रहँदैन । श्रीमान सम्पर्कबिहीन भएको ४ वर्ष भइसक्यो तर सीताको मोबाइलको स्क्रिनमा राखिएको फोटो फेरिएको छैन । 

अहिले पनि त्यही फोटो छ । ‘निष्ठुरी’ श्रीमानको फोटो । ‘कहिलेकाहीँ डिलिट गर्दिउँ कि जस्तो लाग्छ तर फेरि गर्नै सक्दिन’ सीताले भन्नुभयो । अरुणकुमार साह मलेसिया गएको ९ वर्ष भयो । अरुणकुमारको घर बाहिरको यात्रा काठमाडौंबाट सुरु भयो । घरमा खेतीपाती नभएको होइन ।

तर खेतीपातीबाट अरुणले पैसा खेलाउन पाउँदैनथे । पैसा खेलाउने सपनाले उनलाई काठमाडौं ल्यायो । काठमाडौं आउने बेलामा अरुणले भर्खरै बिहे गरेको थिए, सीतासँग । 

नयाँ बुहारी भएकाले सीताले श्रीमानसँग सबै कुरा सोध्न सक्नुहुन्थ्यो । उहाँ त्यतिबेला धरानमा स्वयम्सेविकाको काम गर्नुहुन्थ्यो । त्यसैले धेरै समयसँगै बस्न पाउनुभएन । काठमाडौं आएका अरुणकुमारले ६ महिनासम्म पसल चलाए । 

तर त्यसले अरुणको चित्त बुझेन । काठमाडौंमा हुँदै उनले विदेश जाने सोच बनाए । तर मलेसिया जाने प्रक्रिया सुरु गरिसकेका अरुणले आफ्ना कुरा न श्रीमतीलाई सुनाएका थिए, न परिवारका अरु कसैलाई नै । 

अरुणले विदेश जाने कुरा श्रीमतीसँग त गर्दै गरेनन् । काठमाडौंबाट विदेशको योजना बनाएर घर पुगेका अरुणले बुवालाई पैसा कमाउन जाने कुरा सुनाए । सुरुमा त हरिनारायणले अरुणलाई विदेश नजान भन्नुभयो । तर नमानेपछि उहाँले एकलाख ५ हजार रुपैयाँ ऋण लिएर अरुणको हातमा राखिदिनुभयो । 

लाखभन्दा धेरै खर्च गरेर गएको छोराले कमाएर पठाउला भन्ने आशमा हुनुहुन्थ्यो, हरिनारायण । तर छोराले एकपटकमा १० हजार रुपैयाँ भन्दा धेरै कहिल्यै पठाएनन् । हरिनारायणले फोनमा कमाइ नहुनुको कारण सोध्नुहुन्थ्यो । त्यतिबेला अरुणले भावनात्मक कुरा सुनाउँथे । ‘यहाँ पनि पैसाको बोट हुने रहेनछ भन्थ्यो । मलाई पनि हो नि त जस्तो लाग्थ्यो’ हरिनारायणले सुनाउनुभयो । 

३ वर्ष यसै भनेर बिताए अरुणले । ४५ दिनको बिदामा फर्किंदा अरुण रित्तै हात फर्किए । कमाउन गएको छोरो रित्तै हात फर्किएपछि हरिनारायणले कमाइ नहुने भए विदेश नजान आग्रह गर्नुभयो । तर अरुणले मानेनन् । 

बुवालाई मनाउन उनले आफूले १० लाख रुपैयाँ मलेसियामै ऋणमा दिएको बताए । ‘विदेशमा रुख हुने रहेनछ पैसा टिप्नलाई’ भनेका छोराले पैसा दिएको छु भनेपछि हरिनारायणलाई शंका लागेको थियो । तर केही भन्न सक्नुभएन । 

बुवासँगै परिवारका सबैलाई पैसा उठाउँछु अनि फर्किन्छु भनेर अरुणकुमार फेरि मलेसिया गए । छोराले ढाँट्दा हरिनारायणको मन जति पोलेको छ, त्यो भन्दा धेरै त श्रीमतीको मन रोएको छ । ४५ दिनको बिदामा आएका श्रीमान् सीतासँग १० दिन मात्रै बसे ।

‘पहिला पनि त मसँग त्यति धेरै बस्दैनथे अनि के भन्नु र’ बिदामा आएका बेला पनि सीताले केही भन्न सक्नुभएन । १० दिन आफूसँग बसेका बेला विदेशको नम्बरबाट फोन आयो । केटीको स्वर ठम्याउनुभयो, तर उसले बोलेका भाषा बुझ्नुभएन । 

त्यतिबेलै सीताको मनमा चिसो पसेको थियो । बोल्ने केटीले फोन गर्दा सीताको मन झस्किएको थियो । तर पनि केही भन्न सक्नुभएन । बिदामा आएर फर्किएको केही समयपछि परिवारले अरुणले पैसा नपठाउनु अनि फेरि पनि मलेसिया नै फर्किनुको कारण थाहा पायो ।

मलेसियामै रहेका छिमेकी गाउँका अरुणलाई चिन्ने व्यक्तिले परिवारलाई उनले भनेका कुरा झुटो भएको बताए । उनले अरुणले मलेसियामा राम्रै पैसा कमाइरहेको भएपनि रक्सी खाएर र रमाइलो गरेर पैसा सकिरहेको बताए । त्यति मात्रै कुरा त परिवारले पचाउँथ्यो होला सायद । तर उनले अरुणले मलेसियामै बिहे गरेको पनि सुनाए । 

त्यसैले कमाएको पैसा अरुणले उतै सकिरहेको खबर सुनेपछि हरिनारायण आत्तिनुभयो । सीताको मन रोयो । बेला बेला होइन कि भन्ने पनि लागिरहन्छ सीतालाई । तर मलेसिया फर्किएका अरुणले फोन गर्न छोडेपछि छिमेकी गाउँका व्यक्तिले सुनाएको खबर पुष्टी भयो । 

मन त कहिले पो पोलेको थिएन र !

घरमा हुँदा सँगै बस्न मन नगर्ने श्रीमानले सीतालाई दिनुपर्ने माया अरुसँग नै साटे । यसले सीतालाई न दिनमा आनन्द छ, न रातमा नै । बिहे गरेको केही समयमै टाढा भएका श्रीमानसँग उहाँले त मनमा भएका गुनासा सुनाउने मौका पनि पाउनुभएको छैन ।

‘त्यतिबेला पनि त मसँग बस्नु हुन्नथ्यो नि’ सीताले भन्नुभयो । सीताको भनाईले श्रीमानसँग उहाँका धेरै गुनासा भएपनि भन्ने मौका नै पाउनुभएन भन्ने बुझ्न गाह्रो हुँदैन । श्रीमतीको मन रोएको छ, अनि बुवा आत्तिनुभएको छ । अरु देशका नागरिकसँग बिहे गरेका नेपालीको बिचल्ली भएका खबरहरु सुन्नुभएको छ, उहाँहरुले । त्यसैले कतै अरुण पनि पछि समस्यामा पो पर्ने हुन कि भन्ने पीर छ परिवारलाई । 

यही पीरले आफूले चिनेका कोही मलेसिया जाने थाहा पाउनेबित्तिकैे बुझिदिन आग्रह गर्न थाल्नुभयो । अरुणले घरमा फोन गर्न छोडेको झण्डै डेढ वर्षपछि आँगन जोडिएका छिमेकी शनिचर साह मलेसिया जाने हुनुभयो । यसले अरुणको परिवारमा निभ्न आँटेको दियोमा तेल थपेजस्तो आश जाग्यो । 

शनिचरले भेटेर घरको बारेमा भनेपछि त अरुणको मन फर्किन्छ भन्ने आशा थियो परिवारको । तर मलेसियामा अरुणकुमार बस्ने ठाउँमै पुग्दा पनि शनिचरले भेट्नुभएन । अरुणलाई भेट्न पाँच पटकसम्म उहाँले भनेकै समय अनि ठाउँमा जानुभयो ।

तर अरुणले शनिचरसँग भेटेनन् । ‘५/६ पटकसम्म उसले भनेकै टाइममा उसले भनेकै ठाउँमा गएँ, तर कहिले म बाहिर घुम्न निस्केको छु भन्यो, कहिले चाहिँ आज अर्कै काम प¥यो भनेर ढाँट्यो’ शनिचर भन्नुहुन्छ ।

उसैले दिएको समयमा भेट्न जाँदा पनि भेट्न नखोजेपछि शनिचरले पनि फोन गर्न  छोड्दिनुभयो । शनिचर दुई वर्ष मलेसिया बसेर फर्किसक्नुभएको छ । तर अरुण आउने नआउने कुनै टुङ्गो छैन । 

‘घर फर्किदिए केही नसोधी घरबार सम्हाल्थें’

अर्कैसँग घरजम नै गरिसकेका श्रीमान फर्किएलान् या नफर्किएलान् सीतालाई थाहा छैन । तर आफूसँगै हुर्किंदै गरेका छोरो पनि भएकाले सीताले श्रीमान फर्किन्छन् भन्ने आशाको त्यान्द्रो बाट्नुभएको छ, मनमा । भन्नुहुन्छ ‘घर फर्किदिए मैले थाहा पाएका, सुनेका केही कुरा नसोधी घरबार सम्हाल्थें ।’

श्रीमानका कुरा गरिरहँदा सीताका हातले बेलाबेला मोबाइलको बटन थिचिन्थ्यो । श्रीमान आउलान् भन्ने आशाका कुरा गर्दैगर्दा पनि बटन थिचियो । अनि मोबाइलको स्क्रिनमा फेरि देखिए, सीताका ‘निष्ठुरी’ श्रीमान । 

अन्तिम अपडेट: भदौ ३१, २०७५

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया