कोहलपुर-१२ का वडाध्यक्ष खड्काले आत्महत्या गरेको पुष्टि

 माघ २, २०७६ बिहिबार २०:४१:१४ | गोविन्द शर्मा
unn.prixa.net

नेपालगञ्ज - भारतको बहराईचमा रहेकाे एक होटलमा बुधबार  मृत अवस्थामा भेटिनुभएका बाँकेको कोहलपुर-१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काले आत्महत्या गरेको पुष्टि भएको छ ।

कोहलपुर नगर कार्यपालिकाका प्रवक्ता माधव रिजालले खड्काले आत्महत्या गर्नुभन्दा अघि लेखेको सुसाइड नोट होटलमा फेला परेको जानकारी
दिनुभयो ।

खड्काको मृत्युलगत्तै कोहलपुर नगरपालिका र नेकपाका नेता सम्मिलित टोली बुधबार बहराईच पुगेको थियो । टोलीमा सहभागी प्रवक्ता रिजालले बैंकमा ऋण भएका खड्काले बैंकबाट विभिन्नखाले यातना पाएका कारण आत्महत्या रोजेको चिठीमा उल्लेख गर्नुभएको छ ।

श्रोतका अनुसार सिद्धार्थ बैङ्कमा वडाध्यक्ष खड्काको करिब २० लाख ऋण छ ।

खड्काको शव भारतमा औपचारिक प्रक्रिया पुरा गरि बिहिवार कोहलपुर स्थित निवासमा ल्याइएको छ । उहाँको शुक्रबार अन्तिम संस्कार गरिने भएको छ ।
खड्काले आत्महत्याका लागि उपयुक्त ठानेर बहराईचको शंकर होटल रोजेको पत्रमा उल्लेख गर्नुभएको छ ।

स्थानीय निर्वाचनम नेकपा एमालेबाट विजयी हुनुभएका ६८ वर्षीय खड्का नेकपा जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ ।  खड्का मंगलबार बिहान जमुनाह नाकाबाट रुपैडिया प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया