‘साना कृषि मोडेल फर्म स्थापना’ अनुदानका लागि लमजुङबाट १ सय १० र मनाङबाट एउटा मात्रै आवेदन

 माघ ४, २०७६ शनिबार १०:४:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - ‘साना कृषि मोडेल फर्म स्थापना’ सहयोग कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र लमजुङमा १ सय ११ आवेदन दर्ता भएका छन् ।

‘साना कृषि मोडेल फर्म स्थापना’ गर्न अनुदानका लागि लमजुङबाट १ सय १० आवेदन र मनाङबाट १ आवेदन गरी केन्द्रमा १ सय ११ आवेदन दर्ता भएका हुन् । केन्द्रले अनुदानका लागि गएको साउन २० गते ३५ दिने सूचना प्रकाशित गरेको थियो । 

मनाङमा तुलनात्मक रुपमा कृषि सहकारीका साथै सक्रिय कृषक समूहको कमी, फर्म दर्ता गरी कृृषि कर्म गर्ने किसानको संख्या कम भएकाले पनि अनुदानका लागि मनाङबाट कम आवेदन पर्न गएको हुनसक्ने कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिनुभयो ।

स्थलगत अनुगमन

उहाँका अनुसार यसवर्ष प्राप्त आवेदनको आधारमा छनौट मूल्यांकन समितिले किसानको घरदैलोमै पुगी स्थलगत अनुगमन गरिसकेको छ । छनौट मूल्याकन अन्तिम चरणमा पुगेको उहाँले बताउनु भयाे । 

‘साना कृृषि मोडेल फर्म स्थापना’का लागि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट यसवर्ष केन्द्रलाई १ करोड रुपैयाँ प्राप्त भएको छ ।उहाँका अनुसार गएकाे वर्ष केन्द्रमा यसै अनुदानका लागि मनाङबाट एउटा पनि आवेदन परेको थिएन । 

‘केन्द्रमा गएकाे वर्ष लमजुङबाट २२ वटा आवेदन दर्ता भएका थिए । २० वटा छनौटमा परेका थिए । ३ जनाले सम्झौता गरेर पनि काम गरेनन् । त्यसैले गएकाे वर्ष १७ जनाले अनुदान पाएका थिए,’ उहाँले भन्नुभयो ।

‘साना कृृषि मोडेल फर्म स्थापना’का लागि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट गएकाे वर्ष केन्द्रलाई ७० लाख रुपैयाँ प्राप्त भएको थियो । 

गएकाे वर्ष २ लाख ५० हजारदेखी ४ लाख २० हजारसम्म कृषि सहकारी, कृषक समूह तथा नीजि कृषि कम्पनीले अनुदान पाएका थिए । ‘मौरीपालन, अलैँची खेती तरकारी खेती, माछापालन र केराखेतीका क्षेत्रमा ‘साना कृषि मोडेल फर्म स्थापना’ कार्यक्रमअन्तर्गत सहयोग गरिएको थियो,’ रेग्मीले भन्नुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया