उत्खननकाे पर्खाइमा जेलबाङको फलाम खानी

 माघ ४, २०७६ शनिबार १९:४२:८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - सुनछहारी गाउँपालिका–७, जेलबाङमा रहेको फलाम खानी सम्बन्धित निकायको बेवास्ताका कारण ओझेलमा परेको छ ।

१६औंँ शताब्दीदेखि निरन्तर उत्खनन् हुँदै आएको खानी तत्कालीन समयमा वन कार्यालयले रोक लगाएपछि फलाम निकाल्न छोडिएको थियो ।

फलाम प्रशाेधन गर्ने पुराना मान्छेहरुको मृत्यु भएपछि त्याे सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यो खानी ओझेलमा परेको हो । पछिल्लो समय सडक सञ्जालको विस्तार भएसँगै भारत लगायत अन्य देशबाट फलाम आयात हुन थालेपछि यो फलाम खानी उत्खननमा कसैको ध्यान नगएको स्थानीय चन्द्रबहादुर बुढाले बताउनुभयो ।

‘खानीबाट कच्चा पदार्थ निकालेर प्रशाेधन गर्ने पुराना मान्छे अब एक जना मात्र हुनुहुन्छ’, बुढाले भन्नुभयो, ‘जेलबाङका ८४ वर्षीय रज बुढा एक मात्र फलाम प्रशाेधन गरेका अनुभवी व्यक्ति हुनुहुन्छ ।’

तत्कालीन पञ्चायती व्यवस्थामा यहाँको फलाम, दाङ, सल्यान, प्यूठान, रुकुम र बाग्लुङका जनताले प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ । त्यो बेलामा तत्कालिन जिल्ला पञ्चायत प्यूठानमा जग्गाको तिरो समेत यहाँको फलाम नै तिर्ने गरेको ८४ वर्षका जेष्ठ नागरिक रज बुढाले बताउनुभयो ।

‘जेलबाङका जग्गाको तिरो वर्षमा जम्मा १ सय ५२ धार्नी फलाम तिर्ने गरिन्थ्यो’, बुढाले भन्नुभयो ।

फलाम खानीको महत्वलाई बचाइराख्न जेलबाङ सेवा समाजले जेलबाङको जरापानीमा फलाम प्रशाेधन संग्रहालय निर्माणको काम सुरु गरेको छ । तत्कालीन समयमा कसरी फलाम प्रशाेधन गरिथ्यो भन्ने बारेमा नयाँ पुस्तालाई सीप हस्तान्तरण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वैदेशिक रोजगारीमा रहेका युवाहरुको संस्था जेलबाङ सेवा समाजले संग्रहालयको निर्माण गर्न लागेको हो ।

स्थानीयको मागपछि फलाम खानीको बारेमा स्थानीय सरकारले पनि चासो दिन थालेको छ । फलाम खानी उत्खननका लागि प्रदेश सरकारसँग पहल कदमी अघि बढाएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो ।

‘रोल्पामा रहेको यो फलाम खानीलाई उत्खनन गर्नसके जिल्लाको मात्र नभइ समग्र देशको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएकाले हामीले प्रदेश र संघीय सरकारसँग यसको उत्खननका लागि पहल गरेका छौंँ’, अध्यक्ष पुनले भन्नुभयो, ‘५ नम्बर प्रदेशको आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले फलाम खानीको लागि केहि प्राविधिकहरु अध्ययन लागि आउन लागेको जानकारी दिनुभएको छ ।’

अब त्याे टोली आएपछि प्रक्रिया अघि बढ्छ, हामीले यस विषयमा गम्भीर ढङ्गले व्यापक रुपमा लागेका छौ.।’ अध्यक्ष पुनले भन्नुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया