एमसीसी नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन : राप्रपा अध्यक्ष कमल थापा

 माघ ४, २०७६ शनिबार २०:२३:२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहायता राष्ट्रको हितमा रहेको बताउनु भएको छ । 

उहाँले अन्तरदेशीय प्रसारणलाइन, सडक स्तरोन्नति लगायतका संरचना निर्माणका लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालको हितमा रहेको बताउनुभएको हो । 

थापाले अमेरिकाले नेपालकै आग्रह अनुसार एमसीसी परियोजनमार्फत् पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब रुपैयाँ खर्च गर्ने सहमति गरेको बताउनुभयो । 

‘एमसीसी सम्झौता सदनबाट पास भएपछि नेपालमा कुनै पनि किसिमको सैन्य गतिविधि हुँदैन । यो अपरिपक्व अभिव्यक्ति हो । यसलाई पनि अरुण तेस्रो जस्तो धरापमा पार्न खोजिएको छ ।’ थापाले भन्नुभयो ‘यो नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन। यसलाई पास गरेर जानु नै नेपालको हितमा हुनेछ’ ।

राप्रपा निकट ट्रेड युनियनद्वारा शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले वागमती प्रदेश सरकारले सुरुङ मार्गको निर्माण प्रक्रिया अगाडि बढाउन सुझाव समेत दिनुभएको छ । 

 साथै उहाँले सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादको असर संघीय सदनमा देखिएको भन्दै सभामुख चयन प्रक्रिया तोकिएको समयमै अगाडि बढाउन जरुरी रहेको बताउनु भयो । नेकपालाई सभामुख चयन प्रक्रिया अगाडि बढाएर सदन सूचारु गर्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया