प्रदेश ५ : हिउँदे अधिवेशन सुरु, प्रदेशकाे नाम र राजधानी टुङ्गाे लगाउने तयारी

 माघ ५, २०७६ आइतबार ११:१०:३६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर ५ प्रदेश सभाको हिउँदे अधिवेशन आइतबार दिउँसाे १ बजे सुरु हुँदैछ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको हिउँदे अधिवेशन आइतबार दिउँसो १ बजेका लागि आह्वान गर्नु भएको हो ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार अधिवेशनमा मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले शुभकामना दिने कार्यसूची छ । हिउँदे अधिवेशनमा प्रदेश सरकारले ६ वटा विधेयक पेस गर्ने तयारी गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनु भयो । प्रदेश सभाको चौथो अधिवेशनसम्म ४९ वटा विधेयक पारित भइसकेका छन् ।

हिउँदे अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाउने प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले बताएका छन् । आइतबारको कार्यसूचीमा यो विषयले प्रवेश नपाए पनि यही अधिवेशनबाट प्रदेशको राजधानी र नामाकरणको टुङ्गो लगाउन नेपाली काङ्ग्रेसले दबाब दिने परामर्श समितिका सदस्यसमेत रहनु भएकी सचेतक निर्मला क्षेत्रीले बताउनु भयो ।

प्रदेश सभाको नाम र राजधानीको सिफारिस गर्न बनाइएको विशेष समितिले समेत प्रदेश सभामा आफ्नो प्रतिवेदन बुझाइ सकेकाले अब ढिला गर्न नहुने काङ्ग्रेस सचेतक क्षेत्रीको भनाइ छ । राजधानी तोक्दा पूर्वाधार बनिसकेको क्षेत्रलाई उपेक्षा गर्न नहुने उहाँले जोड दिनु भयो ।

प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले पनि सबै पार्टी, प्रदेश सभाका सदस्यहरुको सहमतिमा प्रदेशको स्थायी राजधानी र नामाकरणको टुुङ्गो यही अधिवेशनले लगाउनेमा विश्वस्त रहन आग्रह गर्नु भयो ।

सकेसम्म ह्विप लगाउने पक्षमा नेकपा नरहेको भन्दै उहाँले प्रदेशका सबै जनतालाई पायक पर्ने ठाउँ, भौतिक सुविधा र सहमतिलाई आधार बनाएर प्रदेशको राजधानी र नामको टुङ्गो लाग्छ प्रमुख सचेतक ढकालले भन्नु भयो । सहमतिको लागि अन्तिमसम्म कसरत गर्ने र नभए केन्द्रको निर्देशन र प्रदेश नम्बर तिनको नजिरलाई नजरअन्दाज गर्न नमिल्ने प्रमुख सचेतक ढकालले बताउनु भयो ।

संविधानअनुसार प्रदेश सभाको स्थायी राजधानी प्रदेश सभाको दुई तिहाइ बहुमतले तोक्ने व्यवस्था छ । ८७ सदस्यीय प्रदेश सभामा नेकपाका ६१, नेपाली काङ्ग्रेसका १९, समाजवादी फोरमका ५ तथा राजपा र राजमोका एक–एक सदस्य रहेका छन् । प्रदेश सभामा नेकपाको पक्षमा दुई तिहाइ मत रहेकाले नेकपाको निर्णय नै प्रदेशको स्थायी राजधानी र नामाकरणको लागि अन्तिम हुनेछ ।

प्रदेशको राजधानीका लागि बुटवल र दाङ प्रमुख चर्चामा रहेका छन् । विकल्पको रुपमा कपिलवस्तुलाई पनि अघि सारिएको छ । मुख्यमन्त्री शङ्कर पोखरेल, सभामुख पूर्णबहादुर घर्ति, दाङबाट प्रतिनिधित्व गर्ने काङ्ग्रेसका प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी राजधानी दाङ लैजाने पक्षमा रहे पनि नेकपाभित्र र काङ्ग्रेसभित्रको बहुमत बुटवल राजधानी हुनु पर्ने पक्षमा रहेको देखिन्छ ।

गएकाे जेठ २ गते सुरु भएर असोजको २ गते प्रदेश सभाको बजेट अधिवेशन सकिएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया