सभामुखकाे टुङ्गाे लगाउन नेकपा सचिवालय बैठक बस्दै

 माघ ५, २०७६ आइतबार १२:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सभामुखको उम्मेदवार टुङ्गो लगाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्दै छ । 

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहान भएको छलफलमा दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको हो ।

बैठकले सभामुखको टुङ्गो लगाउने सम्भावना रहेको नेकपाका नेताहरुले बताएका छन् । साेमबार दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएकाले पनि सभामुखको टुङ्गो लगाउन नेकपालाई दबाब छ ।

नेकपाले सभामुखको टुङ्गो लगाउन नसक्दा गएको पुस ४ गतेदेखि संसद बैठक बस्न सकेको छैन । अध्यक्ष ओलीले पूर्व एमाले र दाहालले पूर्व माओवादीतर्फबाट सभामुख बनाउनु पर्ने अडान लिँदा सभामुखको उम्मेदवा चयन गर्न ढिलाइ भएको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन हिंसाको आरोपमा असोज १४ गते पक्राउ परेपछि सभामुख पद रिक्त छ ।

उपसभामुख तुम्बाहाङ्फेले सभामुखको टुङ्गो नलागेसम्म पदबाट राजीनामा नदिने अडान लिनु भएको छ । तर नेकपाले भने उहाँलाई पदबाट राजीनामा दिन लगाएर सभामुख चयनमा सहयोग गर्न आग्रह गरेको छ ।

संविधानको धारा ९१ को उपधारा २ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनै पर्ने र फरक दलको प्रतिनिधि हुनु पर्ने उल्लेख छ ।

तर ‘प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन’ भनिएको छ ।

सदनमा सभामुख नभएको खण्डमा उपसभामुखले सभामुखको चुनावको लागि सूचना प्रकाशन गर्न आदेश दिन सक्ने र मनोनयन दर्ताको दिनसम्ममा राजीनामा दिन सक्ने संसद सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया