सांसद विकास कोषको बजेट किर्ते योजनामा खर्च !

 जेठ १०, २०७५ बिहिबार १४:५१:७ | विमल बिष्ट
unn.prixa.net

डोटी, जेठ १० – डोटी जिल्लामा आएको पूर्वाधार विशेष र निर्वाचन क्षेत्र कार्यक्रमको रकम किर्ते योजनामा खर्च गरिएको पाइएको छ ।

त्यो रकम सांसदहरूले कार्यकर्ता भरणपोषण गर्नमा केन्द्रित गरेको पाइएको हो । जिल्लाका प्रत्यक्षतर्फ दुई र समानुपातिकतर्फका ४ सांसदको गरी जिल्लामा आएको कुल ९ करोड बजेट मध्ये ६० प्रतिशत बजेट सडक निर्माण शीर्षकमा खर्च भएको देखिएको छ । बाँकी रकम विद्यालय, मठमन्दिर, विद्युत, स्वास्थ्य, शिक्षा तथा क्षमता विकासका नाममा विनियोजन गरिएको छ ।

विद्यालय, मठमन्दिर तथा क्षमता विकासका नाममा अधिकांश बजेट किर्ते योजना बनाएर खर्च गरिएको प्राध्यापक डण्डीराज ओझाले आरोप लगाउनुभयो । ‘त्यत्रो खर्च भएको बजेटको अहिले एउटा पनि गतिलो काम देख्न पाइदैन,’ ओझाले भन्नुभयो, ‘यस्तो प्रवृतिले कार्यकर्तामा झन् आर्थिक मामिलामा खन्चुवा र भ्रष्ट प्रवृत्ति बढेको छ ।’

विद्यालयहरूमा खेलमैदान, पर्खाल निर्माण, छात्राबास, फर्निचर खरिद, भवन मर्मतका नाममा किर्ते योजना बनाइएका छन् । योजनाका शीर्षक अन्य भए पनि आफ्नो पार्टी निकटका शिक्षकहरूलाई तलब खुवाउन बजेटको दुरुपयोग भएको छ ।

‘पैसा गतिलो योजनामा खर्च हुँदै भएन, कार्यकर्ता पोस्नेमा बढी दुरुपयोग भयो,’ जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले भन्नुभयो, ‘सांसदहरूले नागरिकसँग विभिन्न बाचा, प्रतिबद्धता गरेका हुन्छन्, ती पूरा गर्न बजेट दिइनुपर्छ । त्यसको खर्चका लागि भने विशेष निर्देशिका  बनाउनु आवश्यक छ ।’

निर्वतमान पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायरले पूर्वाधार क्षेत्र कार्यक्रमअन्तर्गत ३ करोड बजेटमध्ये ६ वटा विद्यालयलाई २४ लाख रुपैयाँ तलब खर्चका लागि विनियोजन गर्नु भएको थियो । त्यसबाहेक सीपमूलक तथा क्षमता विकास तालिमका नाममा पनि रकम खर्चिनु भएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र कार्यक्रमअन्तर्गत आएको ५० लाखमध्ये १९ विद्यालयमा ३१ लाख ७५ हजार बजेट विनियोजित गरेको देखिन्छ । ४ लाख २५ हजार धामी सम्मेलन गर्ने, मन्दिर मर्मत गर्ने योजनामा रकम विनियोजन गरिएको छ । सांसद प्रेम आलेमगरले पूर्वाधार विशेष कार्यक्रमको ३ करोडमध्ये ३७ लाख ७० हजार रुपैयाँ विद्यालयका किर्ते योजनामा हाल्नु भएको छ । त्यस्तै २० लाख रुपैयाँ ३ वटा मन्दिरलाई चढाउनु भएको छ ।

निर्वाचन क्षेत्र कार्यक्रमको ५० लाखमध्ये कम्प्युटर खरिद, फर्निचर खरिद, खेलमैदान, पर्खाल निर्माण योजना बनाएर ९ विद्यालयलाई १९ लाख खर्च गरिएको छ । त्यस्तै थप  ५ लाख रकम ३ वटा मन्दिरलाई दिइएको छ ।  

जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले भने सांसद विकास कोषको रकम विद्यालयमा खर्च भए नभएको बारे अनभिज्ञता प्रकट गर्नुभयो । ‘आवश्यकतामुखी योजनामा खर्च भएको छैन, समस्या भौतिक पूर्वाधारमा भन्दा शिक्षाको गुणस्तरतर्फ छ,’ उहाँले घुमाउरो तरिकाबाट भन्नुभयो, ‘अग्लो पर्खाल, विद्यालयको गेटमा भन्दा कक्षा कोठामा लगानी गर्नु आवश्यक छ तर त्यस्तो भएको देखिएको छैन ।’

उहाँले समाजले आफैं उत्पन्न गरेका समस्या समाधानका लागि सरकारले विभिन्न नाममा खर्च गर्नु गलत रहेको बताउनुभयो । प्रत्यक्षतर्फ निर्वाचित सांसद भन्दा समानुपातिकतर्फका सांसदको बजेट दुरुपयोग बढी देखिएको छ ।

स–साना टुक्रे योजनामा रकम केन्द्रित छ । समानुपातिकतर्फका सांसदहरूको ठूलो बजेट विद्यालयकै किर्ते योजनाहरूमा खर्च भएको छ । जिल्लाका चारवटा समानुपातिक सांसदहरूले २ करोडमध्ये ६७ लाख मात्र विद्यालयमा मात्र खर्च गरेका छन् । कतिपय विद्यालयहरूले सबै सांसदहरूसँग फरक–फरक योजना देखाएर पनि बजेट विनियोजन गर्न लगाएको देखिएको छ ।

सांसद भरतबहादुर खड्काले ५० लाखमध्ये ३२ लाख रुपैयाँ विद्यालयलाई दिनुभएको छ । केही रकम उहाँले आफू निकटका संघसंस्थालाई समेत दिएको पाइएको छ । मठमन्दिरतर्फ पनि खडकाले ८ लाख रुपैयाँ खर्च गर्नुभएको छ ।

त्यस्तै सांसद गौरी ओलीले सशक्तिकरण, क्षमता विकास तथा आयआर्जन गर्ने योजनाहरूमा बजेट दिनुभएको छ । अर्की सांसद कल्पना सोपले पनि मठमन्दिरमा आठ लाख खर्च गर्नुभएको छ । बर्सेनी बजेट आइरहेका योजनाहरूमा समेत उहाँले बजेट विनियोजन गरेको पाइएको छ ।

जिल्ला बाहिरकी राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले समेत डोटीको निर्वाचन क्षेत्रमा बजेट दिनुभएको छ । उहाँको रकम सडक र विद्यालयमा बढी विनियोजित भएको पाइएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया