सभामुख चयनका लागि माघ १२ गते चुनाव गर्न दलहरु सहमत

 माघ ६, २०७६ सोमबार १४:५१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते चुनाव गरिने भएकाे छ ।  

कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा सभामुखको चुनाव १२ गते गर्ने दलहरुबीच सहमति भएको समितिका सदस्य एवम् कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । 

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गरेसँगै सभामुख चयन प्रकृया अघि बढाउन लागिएकाे हाे । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गर्नुभएको हो । बैठकमा तुम्बाहाङ्फेले दुई वर्ष गरिमामय अङ्गको नेतृत्व गर्न पाउनु महत्वपूर्ण अवसर भएको भन्दै प्रतिनिधिसभा सदस्य र संसद सचिवालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले सभामुख चयनको ठोस आधार प्रस्तुत भएपछि राजीनामा दिने कुरा अभिलेखित गराउन सम्बोधन गरेको पनि बताउनुभयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भई आइतबार बसेको सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेपछि साेमबार संसद्को बैठक बसेको हो ।

तुम्बाहाङ्फे नेकपाबाट सांसद बनेर उपसभामुद बन्नुभएको थियो । कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि गएकाे असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । महराले राजिनामा दिएपछि तुम्बाहाङ्फेले प्रतिनिधि सभामा बैठकको अध्यक्षता गर्नुभएको थियो ।

सभामुख बनाउने प्रतिबद्धता पछि मात्र राजीनामा दिने अडान लिनुभएका उपसभामुख तुम्बाहाङ्फेले पटकपटक नेतृत्वको सार्वजनिक रूपमै आलोचना गर्नुभएको थियो ।

तर तत्कालीन माओवादी र एमाले एकीकरण भएर बनेको नेकपाभित्र पूर्वमाओवादी वा पूर्वएमाले कसबाट सभामुख बनाउने भन्ने रस्साकस्सी चलेपछि तुम्बाहाङ्फेकाे विषय ओझेलमा पर्‍याे । प्रतिनीधि सभाको बैठक साेमबार आजै अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

आजै बस्ने प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्नुहुने छ ।  

बैठकमा ज्येष्ठ सदस्यले सभामुख चयनको प्रक्रिया थाल्न संसदका महासचिव मनोहर भट्टराईलाई निर्देशन दिएपछि सभामुखको चुनावी प्रक्रिया थाल्ने सचिवालयको तयारी छ । दलहरुले १२ गतेका लागि चुनाव गर्ने सहमति जनाएसँगै सचिवालय त्यही अनुसार तयारी अघि बढाउने छ ।  

सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया साेमबार सुरु नगर्ने भएको छ ।  

मुख्य विपक्षी दल काङ्ग्रेसले पनि सभामुख पदमा आफ्नाे उम्मेदवार उठाउने तयारी गरेकाे छ । कांग्रेसले सांसद पुष्पा भुषाललाई सभामुखकाे उम्मेदवार बनाउने तयारी गरेकाे छ । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया