सुर्खेतबाट सवारी चालक अनुुमति पत्र दिन सुरु

 माघ ६, २०७६ सोमबार २०:१४:८ | मुना हमाल
unn.prixa.net

सुुर्खेत - यातायात व्यवस्था कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न सुरु गरेको छ । यो सँगै कर्णाली प्रदेशबाट लाइसेन्स लिनका लागि अर्को प्रदेशमा जानुपर्ने बाध्यता हटेको छ । 

सुर्खेतमा यातायात व्यवस्था कार्यालय स्थापना भएको लामो समय बितिसक्दा पनि यहाँबाट लाइसेन्स वितरण हुन सकेको थिएन । एक वर्षअघि यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न अनुमति पाए पनि कर्मचारी र पूर्वाधार अभावले लाइसेन्स वितरण गर्न नसकेको बताउँदै आएको थियो । 

यहाँबाट लाइसेन्स वितरण नहुँदा यस अघि प्रदेश नं ५ को नेपालगञ्जमा गएर सेवाग्राहीले लाइसेन्स लिनुपर्ने बाध्यता रहेको थियो । कार्यालयका निमित्त प्रमुख आनन्द चपाईका अनुसार ८० जनाले लाइसेन्स प्राप्तिका लागि अनलाइन फारम भरेका छन । 

सुर्खेतबाटै लाइसेन्स वितरण सुरु भएपछि आफूहरुलाई खुशी लागेको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । २०७० पुस १४ गते यातायात व्यवस्था इकाई कार्यालयको रुपमा स्थापना भएको यस कार्यालय स्तरउन्नत हुँदै गएकाे असोजमा यातायात व्यवस्था कार्यालय भएको थियो । 

अहिलेसम्म कार्यालयले रुट परमिट, लाइसेन्स, सवारी नविकरण, सवारी जाँच पासलगायतका कामहरु गर्दै आएको कार्यालयले अब स्मार्ट लाइसेन्स वितरण गर्ने निमित्त प्रमुख चपाईले बताउनुभयो । 

उहाँले डोजर जस्ता हेबी मेशिनरी तर्फको सवारी साधानको लाइसेन्स भने अहिलेको व्यवस्थापनले नसकिने भएकाले बिस्तारै दिइने जानकारी दिनुभयो । उहाँले कार्यालयबाट दैनिक २ सय जनालाई लाइसेन्स दिन सकिने पनि बताउनुभयो ।

लाइसेन्सका लागि यातायात व्यवस्था विभागको  वेवसाइडमा गएर अनलाइन फारम भर्नुपर्ने उहाँले जानकारी दिनुुभयो । आइतबारदेखि बुधबारसम्म अनलाइन फारम दर्ता गर्न सकिने उहाँको भनाई  छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया