भूकम्पले भत्केकाे घर बनेन ? जानकारी गराउनुस् : प्राधिकरण

 माघ ६, २०७६ सोमबार २०:२३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कुनै पनि नागरिकको घर पुनर्निमाण हुन नसकेको भए प्राधिकरणमा जानकारी गराउन आग्रह गर्नुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सोमबार काठमाण्डाैमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भूकम्प पीडीतहरुको प्रश्नको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले अहिलेसम्म नागरिकको घर बन्ने कुरामा प्रेरित गरिराखेको र कसैको घर बन्न नसकेको भए के कस्तो समस्या भएको हो जानकारी गराउन आग्रह गर्नुभएको हो ।  

कार्यक्रममा भूकम्प पीडीतहरुले एकमुष्ट रकम दिएको भए राम्रो हुने भन्ने प्रश्न गरेका थिए । पीडितहरुकाे प्रश्नको जवाफ दिँदै उहाँले विकृति आउन नदिन एकमुष्ट रकम नदिएको बताउनुभयो ।

अहिले ५० हजार रुपैयाँ लगेर घर नबनाउनेहरु पनि धेरै भएको उल्लेख गर्दै ३ लाख रुपैयाँ दिएको भए आधा पनि घर नबन्ने अवस्था आउने बताउनुभयो ।  

उहाँले सरकारले दिएको रकमले आफूले चाहेको जस्तो घर बनाउन रकम अपुग भएमा वाणिज्य बैंकहरुमार्फत सहुलियत ब्याजदरमा निश्चित समयका लागि ३ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेकाले त्यसको सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रिय वाणिज्य बैंकले पनि ८ प्रतिशत ब्याजमा घर धितोमा कर्जा दिने र त्यसमा ५ प्रतिशत सरकारले ब्याज अनुदान दिंदा ३ प्रतिशतमा कर्जा सजिलै पाउन सकिने भएकाले सदुपयोग गर्न आग्रह गर्नुभयो ।

भूकम्प पीडीतहरुले आफ्नो घर पुनर्निमाणका लागि भएका समस्याको सम्बन्धमा प्रश्न गरेका थिए । गुठिको जग्गा तथा भूमिहीनहरुको पुनर्निर्माण लगायतका विषयमा समेत समाधान निस्किएकाले स्थानीय तहसँग समन्वय गरेर आफ्नो समस्या प्राधिकरणसम्म ल्याउन उहाँले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया