दरबन्दी विहीन एक सयभन्दा बढी विद्यालयलाई अनुदान

 साउन ६, २०७५ आइतबार २०:८:४ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – दरबन्दी नभएका एक सयभन्दा बढी विद्यालयहरुले अनुदान प्राप्त गरेका छन् ।

जिल्ला शिक्षा समितिको बैठक मार्फत जिल्लाका शुन्य दरबन्दी भएका १ सय ६ विद्यालयलाई बैठकले अनुदान रकम वितरण गरेको हो । सल्यानमा रहेका साढे चार सय विद्यालय मध्ये मापदण्डको आधारमा प्रकृया पुगेका १ सय ६ विद्यालयलाई अनुदान रकम वितरण गरिएको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख लिलाधर बवालले बताउनुभयो ।

प्राप्त अनुदानबाट विद्यालयले नयाँ शिक्षक भर्ना तथा पठनपाठनमा सहजता ल्याउनको लागि सहज हुने उहाँले बताउनुभयो । कार्यालयले दिएको अनुदानबाट विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार गणित, विज्ञान र अंग्रेजी विषयको शिक्षक व्यवस्थापन गर्न सकिने उहाँको भनाई थियो । 

‘हामीले निश्चित मापदण्ड बनाएर अनुदान वितरण गरेका छौँ’, बवालले भन्नुभयो, ‘एउटा विद्यालयमा न्युनतम एक शिक्षकको व्यवस्थापन हुने गरी रकम छुट्याइएको छ ।’ तोकिएको विषय शिक्षक बाहेक अन्यत्र भने यो रकम खर्च गर्न नमिल्ने उहाँले बताउनुभयो । 

शिक्षा समितिले शुन्य दरबन्दी भएका प्राथमिक विद्यालय (१–५) संचालन भएका ८ वटा विद्यालयमा १६ लाख ५६ हजार अनुदान वितरण गरेको छ भने आधारभूत विद्यालय (१–८) संचालन भएका ७४ विद्यालयमा १ करोड ८४ लाख ६९ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ । यस्तै २४ वटा माध्यमिक विद्यालय (१–१०) को लागि ९१ लाख २० हजार अनुदान दिइएको प्रमुख बवालले बताउनुभयो ।

मापदण्ड बनाएर अनुदान वितरण गर्दा सहज

इकाई प्रमुख बवालले मापदण्ड बनाएर अनुदान वितरण गर्दा सहज भएको बताउनुभयो । माण्दण्ड अनुसार कम्तीमा १–५ संचालन भएको हुनुपर्ने, विद्यार्थी संख्या २५ जनाभन्दा बढी हुनुपर्ने, कम्तिमा ३ शैक्षिक सत्र सञ्चालन भएको हुनुपर्ने तोकिएको छ । 

यसैगरी विद्यालय व्यवस्थापन समिति गठन भएर काम गरिरहेको, सामाजिक परीक्षण गरेको, विद्यालय सुधार योजना निरन्तर अपडेट गरी लागू गरेको लगायतका मापदण्ड तय गरिएको इकाई प्रमुख बवालले बताउनुभयो । 

जिल्लाभर डेढ सय विद्यालयमा शुन्य दरबन्दी

१ सय ६ विद्यालयले अनुदान रकम पाएको भए पनि जिल्लाभरी डेढ सय विद्यालयमा शुन्य दरबन्दी रहेको छ । जिल्लाभर रहेका साढे चार सय विद्यालय मध्ये  १ सय ५० विद्यालयमा शुन्य दरबन्दी देखिएको हो । शुन्य दरबन्दी रहेका विद्यालयमा प्राथमिक तह (१–३) संचालन भएका ४२ वटा विद्यालय रहेका छन् ।

यसैगरी प्राथमिक विद्यालय (१–५) संचालन भएका ८ वटा विद्यालयमा कुनै पनि दरबन्दी नभएको पाइएको छ । आधारभूत तह (१–८) संचालन भएका विद्यालय मध्ये ७४ विद्यालयको (६–८) तह दरबन्दीबिहिन रहेको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख लिलाधर बवालले बताउनुभयो । यसैगरी जिल्लामा रहेका २५ माध्यमिक विद्यालय पनि दरबन्दीबिहिन नै चल्दै आएका छन् । 

दरबन्दीविहिन भएका विद्यालयहरु मध्ये कतिपय विद्यालयलाई स्थानीय तहहरुले मर्जको प्रकृयामा लैजाने तयारी गरेका छन् भने कतिपय विद्यालयमा स्थानीय रुपमा नै श्रोत व्यवस्थापन गरिएको इकाई प्रमुख बबालले बताउनुभयो । कतिपय विद्यालयहरु भने नियमित रुपमा सञ्चालन हुन नसकेपछि कक्षा घटाउन सुरु गरिएको कार्यालयले जनाएको छ ।

यसैबीच बवालले साविकको जिल्ला शिक्षा कार्यालयले थालेका आर्थिक वर्ष ०७४÷०७५ का भौतिक निर्माण तर्फका सत प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । ‘भौतिक निर्माणतर्फ सञ्चालन भएका सबै काम सम्पन्न भएर भुक्तानी समेत भैसकेका छन्’, उहाँले भन्नुभयो, ‘निरन्तर शिक्षाको काम पनि सोचे अनुसार सम्पन्न भएको छ ।’


 

अन्तिम अपडेट: चैत १५, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया