मकवानपुरको रिसोर्टमा अचेत भेटिएका ८ भारतीयकाे ज्यान गयाे

 माघ ७, २०७६ मंगलबार १२:४१:४८ | हरि हुमागाईं
unn.prixa.net

हेटाैँडा – मकवानपुरको एभरेस्ट पानारोमा रिसोर्टमा बसेका आठ जना भारतीय पर्यटकको ज्यान गएको छ ।

मकवानपुरको थाहा नगरपालिका ४ काे सिमभञ्ज्याङमा रहेको रिसोर्टमा बसेका उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

अचेत अवस्थामा भेटिएका सात जनालाई उपचारका लागि काठमाण्डाे लगिएकोमा अस्पतालले उनीहरुलाई पनि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठोरले जानकारी दिनुभयो । एक जनाको रिसोर्टमै ज्यान गएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । दुई वटा कोठा लिएर बसेका उनीहरुलाई आज बिहान बेहोस अवस्थामा फेला पारिएको थियो । उनीहरु भारतको केरला प्रदेशका नागरिक रहेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा भारत केरला राज्यका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीय सरिया, पाँच वर्षीय अभि, सात वर्षीया अर्चना, पाँच वर्षीय वैशनव र नौ वर्षीय वन्द्र रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उनीहरु दुई वटा कोठामा बसेको भए पनि बेहोस अवस्थामा भने एउटै काेठामा भेटिएको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरुकाे निसास्सिएर बेहोस भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

उनीहरु १५ जनाको समूहमा काठमाण्डाैकाे नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौँडा आएको बुझिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया