उखु किसानले केही दिनभित्रै अनुदान रकम पाउँछन् : मन्त्री भट्ट

 माघ ८, २०७६ बुधबार ९:२८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  उखु किसानले केही दिनभित्रै अनुदान रकम पाउने सरकारले दाबी गरेको छ ।

सरकारले दिने एक अर्ब ९ करोड रुपैयाँमध्ये ७१ करोड रुपैयाँ सम्बन्धित जिल्लामा निकासा भइसकेको र बाँकी ३८ करोड रुपैयाँ पनि केही दिनमै उपलब्ध गराउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताउनु भयो । उज्यालोसँग कुरा गर्दै उहाँले निकासा हुन बाँकी ३८ करोड रुपैयाँ तत्काल उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरि सकिएको पनि जानकारी दिनुभयाे ।  

मन्त्री भट्टले उखु किसानलाई अनुदान रकम निकासा भइसकेको बताए पनि अहिलेसम्म किसानले भने भुक्तानी रकम पाउन सकेका छैनन् । आर्थिक वर्ष २०७४/७५ को झण्डै दुई करोड रुपैयाँसहित यो वर्षको अनुदान रकम आफूहरुले नपाएको उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनु भयो ।

नगरपालिकाको सिफारिसमा भुक्तानी समितिले प्रमाणित गरेर अनुदान रकम चिनी उद्योगीकै खातामा हालिदिने प्रावधान छ । चिनी उद्योगको खातामा पैसा पुगेपछि मात्रै किसानको खातामा जाने भएकोले तत्काल किसानले पैसा पाउन सक्ने अवस्था नरहेको अध्यक्ष मैनालीको भनाइ छ । 

यसैबीच चिनी उद्योगीले मङ्गलबारसम्ममा सबै रकम भुक्तान गर्नुपर्ने भए पनि त्यसो नभएपछि उखु किसानले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । पटक–पटक किसानसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ ।

गएको पुस १८ गते सरकार र किसानबीच मङ्गलबारसम्ममा चिनी उद्योगीले किसानका एक अर्ब २० करोड रुपैयाँ भुक्तानी गर्ने सहमति भए पनि कार्यान्वयन भएको छैन ।

आउँदाे शुक्रबार १० गतेपछि तीनै तहका सरकारसँग थप छलफल गरिने उखु किसान सङ्घर्ष समितिले जनाएको छ । उखु किसानले उद्योगबाट पाउनुपर्ने एक अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा १५ करोड रुपैयाँमात्र भुक्तानी पाएका छन् । 

सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपूर्ण सुगर मिल धनकौलले ३५ करोड, श्रीराम सुगर मिल रौतहटले ४२ करोड र नवलपरासीको इन्दिरा सुगर मिलले ९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

गएकाे सोमबार महालक्ष्मी सुगर मिल बगदहले ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिल धनकौलले ३ करोड ९० लाख र इन्दिरा सुगर मिल नवलपरासीले ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेका छन्  । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया