ए डिभिजन लिगमा आठाैँ चरणका खेल सुरु : प्रतिबन्धमा परेका मच्छिन्द्रका खेलाडी खेलमा फर्कँदै

 माघ ८, २०७६ बुधबार १२:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधबार आठौँ चरणका खेलहरु सुरु हुँदैछन् ।

बुधबार दशरथ रङ्गशालामा मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । लिगअन्तर्गत आठौँ चरणका सबै खेलहरु दशरथ रङ्गशालामा हुने तय भएकाे छ ।

साताैँ चरणकाे खेल सकिँदासम्म मच्छिन्द्र १३ अङ्कसहित दोस्रो स्थानमा छ भने पुलिस क्लब ११ अङ्कसहित छैटौं स्थानमा छ । याे खेलमा मच्छिन्द्र विजयी भए शीर्ष स्थानमा रहेको आर्मीसँग अङ्क बराबरी गर्ने छ भने पुुलिस विजयी भए मच्छिन्द्रलाई पछि पार्दै दोस्रो स्थानमा उक्लने छ ।

सातौँ चरणमा मच्छिन्द्र हिमालयन शेर्पासँग पराजित भएको थियो भने पुलिसले जावलाखेललाई पराजित गरेको थियो । बुधबारको खेलमा मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल खेलमा फर्कने छन् ।

उनीहरु पाँचौँ चरणमा मनाङसँगको खेलपछि भएको झडपका कारण दुई–दुई खेलको प्रतिबन्धमा परेका थिए । जसका कारण उनीहरु छैटौँ चरणमा जावालाखेल र सातौँ चरणमा हिमालयन शेर्पासँगको खेल गुमाएका थिए । मछिन्द्रले जावलाखेललाई पराजित गरे पनि शेर्पासँग भने पराजित भएको थियो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया