अबदेखि धादिङमा ट्रकलगायतका मालवाहक गाडीले यात्रु चढाएमा कारबाही गरिने

 माघ ८, २०७६ बुधबार २०:३८:१६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - जिल्लामा यात्रु बाेक्नुनपर्ने गाडीहरुमा यात्रु बाेकेकाले दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालयले बुधबार धादिङबेसीमा यातायात व्यवसायी, प्रहरी र नागरिक समाजसँग छलफल गरेको छ ।

जिल्ला प्रशासनले गरेको छलफलपछि सिटभन्दा बढी यात्रु चढाउने, मालवाहक गाडीले यात्रु चढाउने गरेमा अबदेखि जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गरी कारबाही गर्ने सहमति भएको छ ।

सवारी चालकले जाँडरक्सी खाएकाे पाइएमा त्यस्ता सवारी चालकलाई अबदेखि जरिबाना नभइ प्रहरीले हिरासतमा राखेर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ ।

बीमा नभएका गाडी सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने, ब्लुबुकमा जुन प्रयोजन भनिएको छ त्यसैअनुसार गाडी चलाउने, प्रदूषण पास नभएका गाडी चलाउनमा रोक लगाउने, सामान ढुवानी गर्दा गाडीकाे बाहिर निस्कनेगरी सामग्री राख्न नपाइने निर्णय गरिएको छ ।

ट्राफिक प्रहरीहरुले सवारी चालक र यात्रुहरुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टाइम कार्डकाे व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातको लागि विशेष सांकेतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रुसंख्याभन्दा बढी यात्रु राखेमा कारबाही गर्ने  निर्णय गरेको छ ।

जिल्लाको प्रमुख तिर्थस्थल ढोला मण्डलीलाई सभ्य बनाउने, मण्डली क्षेत्रमा मदिरा पूर्ण रुपमा बन्द गर्ने सहमति पनि गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीले संयोजन गर्नुभएको सरोकारवालाहरुको बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया