राष्ट्रिय सभाकाे १८ सदस्यका लागि मतदान हुँदै, ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा

 माघ ९, २०७६ बिहिबार ७:५९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाको १८ सदस्यका लागि बिहीबार मतदान हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने मतदानमा ६ दलका ४५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका ४ को समितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदान हुनेछ ।

यस्तै प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदानका लागि आवश्यक पर्ने मतपत्रसहित अन्य सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याइ सकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सात प्रदेशमा ५ सय ५० जना प्रदेश सदस्य र एक हजार ५ सय ६ पालिकाका पदाधिकारीको नाम मतदाता सूचीमा छ । मतदान भएको केही घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । 

राष्ट्रिय सभाको कुल ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना दुई वर्षे कार्यकाल सकेर बाहिरिन लागेका हुन् । जसमध्ये १८ जना चुनावमार्फत छानिने छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । 

राष्ट्रिय सभामा सात वटै प्रदेशबाट मतभारका आधारमा सदस्य छानिने व्यवस्था छ । जसअनुरुप अहिले प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, प्रदेश ३ बाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरी कुल १८ जना चुनावमार्फत छानिने छन् ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया