आज साउनको पहिलो सोमबार, पशुपतिमा यस्तो छ तयारी

 साउन ७, २०७५ सोमबार ६:१९:४ | उज्यालो सहकर्मी

काठमाडौं - आज साउनको पहिलो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुईंचो लागेको छ । साउनको सोमबार पशुपतिनाथ मन्दिरमा लाग्ने भक्तजनको भीड व्यवस्थापनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि नै लाम व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालनलगायत काम भैरहेको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । 

“बिहान ३ बजेदेखि नै पिंगलास्थान, गौशालाचोक र उमाकुण्डबाट लाम लाग्ने व्यवस्था मिलाइएको छ, बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुल्नेछन्, दर्शनार्थीले छिटो पूजा एवं दर्शन गरेर फर्कन सक्ने गरी सबै व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो । 

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो । 

भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया