मैले जितेँ, सरकारलाई सफल बनाएरै छाड्छु : प्रवक्ता श्रेष्ठ

 माघ १०, २०७६ शुक्रबार ७:१३:१५ | रासस
unn.prixa.net

कास्की – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताउनु भएको छ ।

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि बिहीबार साँझ पोखरामा आयोजना गरिएको विजयी सभामा उहाँले सरकार र सदनको प्रभावकारिता वृद्धि गरी ‘समृृद्ध नेपाल, सुखी नेपाली’ को सरकारको आकांक्षालाई सफल तुल्याउन आफ्नो विजयले सघाउने दाबाी गर्नुभयो ।

उहाँले भन्नुभयो, 'राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्न र सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गरेर परिणाममूखी बनाउन विजयले मद्दत गर्नेछ । हामी सरकारलाई हरहालतमा सफल बनाइ छाड्ने छौँ, म आफ्नातर्फबाट सम्पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दछु ।' 

आफूहरुको विजयले सांसदकाे उपस्थिति र सरकार सञ्चालनमा सङ्ख्यात्मक अन्तर पार्ने नभए पनि पार्टीको नीति र कार्यक्रम तथा घोषणापत्रअनुसार सरकारले सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई गुणात्मक फड्कोमा पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

नेता श्रेष्ठले राष्ट्रिय सभामा उम्मेदवार बनाउने र विजयी गराउन योजना बनाउने पार्टी नेतृत्व र पार्टीलाई आभार व्यक्त गर्दै मतदान प्रक्रियामा सहभागी सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

अर्की नवनिर्वाचित सांसद भगवती न्यौपानेले परिवर्तन पक्षधर जनता विजयी हुँदै आएको वर्तमान युगमा पार्टी र जनताको अपेक्षालाई पूरा गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले राष्ट्रिय सभाको मत परिणामले पार्टी थप बलियो हुँदै गएकाले शक्तिशाली पार्टीले अब जनअपेक्षा पूरा गर्ने गरी काम गर्ने बताउनु भयो ।

प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले निर्वाचन प्रक्रियामा सहभागी ११ वटै जिल्ला कमिटी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

निर्वाचन कार्यालयले मतपरिणाम सार्वजनिक गरेलगत्तै नेकपाका नेता कार्यकर्ताले राष्ट्र बैँक चोक हुँदै शहीद चोकसम्म विजयी र्‍याली निकालेका थिए । नवनिर्वाचित सांसदद्वयले शहीद चोकमा रहेको शहीदस्तम्भमा पुष्प गुच्छा चढाएर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया