आरबीबी एनभीए भलिबल : महिला–पुरुष दुवैतर्फ एपीएफ फाइनलमा

 माघ १०, २०७६ शुक्रबार ९:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबार पाँचाैँ 'आरबीबी एनभीए' भलिबलकाे फाइनल खेल हुँदैछ ।  

नेपाल भलिबल सङ्घको आयोजना तथा राष्ट्रिय वाणिज्य बैँकको मुख्य प्रायोजन रहेको प्रतियाेगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फको फाइनल खेल दिउँसाे २ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुँदैछ । त्यसअघि तेस्रो स्थानका लागि महिला र पुरुषतर्फका खेलहरु हुने छन् । 

दिउँसो २ बजे महिलातर्फको फाइनल हुने छ । महिलातर्फ विभागीय क्लब एपीएफ र न्यु डायमण्ड स्पोर्टस क्लब प्रतिस्पर्धा गर्दैछन् । यी दुई टिमले गएकाे पुसमा पनि न्यु डायमण्ड कपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । त्याे खेलमा एपीएफ विजयी भएकाे थियो ।

आजको फाइनलमा एपीएफमाथि जीत निकाल्दै पुसको फाइनलकाे बदला लिने लक्ष्यमा न्यु डायमण्ड रहने छ । एपीएफ बिनिता बुढाथोकीको कप्तानीमा छ भने न्यु डायमण्ड ललिता नाथको कप्तानीमा छ । 

एपीएफमा सरस्वती चौधरी, रेश्मा भण्डारीलगायतका राष्ट्रिय टिमका खेलाडी छन् भने न्यु डायमण्डमा प्रतिभा माली, राष्ट्रिय टिमकी कप्तान अरुणा शाही छन् ।

बिहीबार भएको सेमिफाइनलमा एपीएफले नेपाल पुलिस तथा न्यु डायमण्डले त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।

यस्तै आजै दिउँसो ४ बजे पुरुषतर्फको फाइनल खेल हुने छ । फाइनलमा एपीएफ र हेल्प नेपालबीच प्रतिस्पर्धा हुने छ । बिहीबार भएको सेमिफाइनलमा एपीएफले गएकाे संस्करणको विजेता त्रिभुवन आर्मीलाई पराजित गरेको थयाे भने भारतीय खेलाडी र भारतीय सेनाका नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेकाे थिए ।

उपाधि विजेता टिमले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीहरुले १० हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया