‘खुशी हुँदै फर्कनुभयो राजकुमारी’

 माघ ११, २०७६ शनिबार ७:३८:४३ | रासस
unn.prixa.net

चितवन - चितवन राष्ट्रिय निकुञ्जको घुमघाम र यहाँको न्यानो आतिथ्यता पछि तीन दिनको बसाई सकेर बेल्जियमकी राजकुमारी अस्त्रिद शुक्रबार काठमाडौँ फर्कनुभयो । फर्कनुअघि उहाँले भरतपुर विमानस्थलको विशिष्ट कक्षमा निकुञ्जको सौन्दर्यताको बारेमा वर्णन गर्नुभयो । 

उहाँले चितवन राष्ट्रिय निकुञ्जमा घुम्दा आफूले एक सिङ्गे गैँडासहित विभिन्न जनावर र थुप्रै प्रजातिका चराचुरुङ्गी देखेको भन्दै खुशी प्रकट गर्नुभयो ।

आफूलाई स्वागतसहित राम्रो आतिथ्यता प्रदान गरेकोमा भरतपुर महानगरपालिका र प्रदेश सरकारप्रति पनि उहाँले आभार प्रकट गर्नुभयो । उहाँलाई प्रदेशसभा सदस्य रिना गुरुङ, भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित सरकारी अधिकारीले बिदाइ गरेका थिए ।

बुधबार साँझ चितवन राष्ट्रिय निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो । साँझ नै प्रदेश सरकारको आतिथ्यतामा अस्त्रिदलाई रात्रिभोज दिइएको थियो । 

बिहीबार दिनभर उहाँले निकुञ्ज घुम्नु भएको थियो । राजकुमारी अस्त्रिद एक साताका लागि नेपाल भ्रमणमा आउनुभएको हो । शनिबार उहाँ बेल्जियम फर्कने कार्यक्रम रहेको छ । उहाँ यही माघ ५ गते नेपाल आउनुभएको हो । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया