डा. केसीले अनसन तोडेमा प्रधानमन्त्री आफैंले वार्ता गर्ने

 साउन ७, २०७५ सोमबार ९:३७:४१ | उज्यालो सहकर्मी

काठमाडौं - चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले पछिल्लो अनसन थालेको २४ दिन बितिसकेको छ । यसबीचमा सरकारले उहाँलाई जुम्लाबाट काठमाडौं ल्याए पनि औपचारिक वार्ता हुन सकेको छैन । 

शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीसँग केसीले वार्ता गर्न अस्वीकार गर्नुभएको छ । यसकारण वार्ता अझै अनिश्चित छ ।

यसैबीच सरकारले अनसन तोडेर वार्तामा आउन डा. केसीलाई सन्देश पठाएको छ । बालुवाटार निकट स्रोतका अनुसार केसीले अनसन तोडे प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सीधै वार्ता गर्ने सम्भावना छ । यसअघि पटकपटक सहमति भए पनि समस्याको समाधान नभएपछि प्रधानमन्त्री आफैंले डा. केसीसँग वार्ता गर्ने मनस्थिति बनाउनुभएको हो । यसबारेको सन्देश डा. केसीलाई पठाए पनि उहाँले जवाफ नपठाउनुभएको स्रोतको भनाई छ ।

‘डा. केसीभन्दा अरुसँग वार्ता गरेर पनि अर्थ नहुने भयो, उहाँ संस्था नभएर व्यक्ति भएकाले उहाँका प्रतिनिधिभन्दा पनि उहाँसँगै सरकारले वार्ता गर्न खोजेको हो । आवश्यकता परेमा प्रधानमन्त्रीस्तरमै वार्ता हुन्छ’ नाम उल्लेख नगर्ने शर्तमा प्रधानमन्त्रीका एक सहयोगीले उज्यालो अनलाइनसँग भने, ‘तर पहिले उहाँले अनसन तोड्नुपर्छ । अनसनमा भएको बेला उहाँ बोल्न सक्नुहुन्न, कसरी वार्ता गर्ने ?’

सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता हुनुपर्ने माग राख्दै डा. केसीले असार १६ गते जुम्लाबाट अनसन सुरु गर्नुभएको हो । अनसनका कारण स्वास्थ्य अवस्था गम्भीर देखिएपछि सरकारले डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको छ ।

उहाँको मागप्रति बिभिन्न राजनीतिक दल, नागरिक समाज तथा पेशागत संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • Rajn

    July 23, 2018, 9:58 a.m.

    डाक्टरले अनशन तोड्ने, सरकारले पेश गरेको विधेयक फिर्ता लिने /

  •  0 Reply

तपाईको प्रतिक्रिया