अग्नि सापकाेटाविरुद्धकाे मुद्दा न्यायाधीश फुयाँलले हेर्न नमिल्ने

 माघ १२, २०७६ आइतबार १२:९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुखका उम्मेदवार अग्नि सापकोटालाई पक्राउ गर्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आइतबार सुनुवाइ नहुने भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलासमा परेकोमा उहाँले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबार नहुने भएको हो ।

न्यायाधीश हुनुअघि फुयाँलले नै सापकोटाको मुद्दामा पक्षबाट बहस गरेकाले उहाँको इजलासमा सुनुवाइ हुन नमिल्ने भएको हो । 

सापकोटालाई सभामुख बनाउन लागिएको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीका मुख्य सल्लाहकार सुशिल प्याकुरेलले पदबाट राजिनामा दिनुभएको छ । 

यसैबीच प्रतिनिधि सभाको नयाँ सभामुख चयन आइतबार हुँदैछ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले नयाँ सभामुख चयन गर्नेछ ।

सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उहाँ सभामुख बन्ने निश्चित जस्तै छ । आइतबारकाे बैठकले प्रक्रिया पूरा गरी उहाँलाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

आइतबारकाे बैठकमा प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारीको प्रस्ताव पेस गर्ने र प्रस्तावमा समर्थकहरु नेकपाका देव गुरुङ र ओनसरी घर्ती तथा राजपाका लक्ष्मणलाल कर्णले समर्थन गर्नु हुनेछ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारकाे आराेपमा पक्राउ परेपछि सत्तारुढ नेकपाले उम्मेदवार चयन गर्न नसक्दा हिउँदे अधिवेशन सुरु भएको झण्डै डेढ महिनासम्म पनि प्रतिनिधि सभाले सभामुख पाउन सकेको छैन ।

सापकोटाको सपथ ग्रहण राष्ट्रपति कार्यालयमा आइतबार नै गर्ने तयारी छ ।  

अन्तिम अपडेट: माघ १७, २०७६

तपाईको प्रतिक्रिया