बालुवाटारको जग्गा अनियमितता गर्नेहरुलाई केही दिनमै कारबाही हुन्छ : मन्त्री अर्याल

 माघ १३, २०७६ सोमबार १५:३९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारमा रहेकाे ललिता निवासको जग्गा अनियमितता गर्नेहरुलाई केही दिन भित्रमा कारबाही गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

मन्त्री अर्यालले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र मन्त्रालयले काम गरिरहेको र केही जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको बताउनुभयो ।

उहाँले मन्त्रालयले पहिला नै काम सकेको भए पनि अदालतले प्रश्न उठाएका कारण मन्त्रालयले गरेको मेहनत खेर गएको पनि बताउनुभयो ।  

मन्त्री अर्यालले देशभर जग्गाको व्यवस्थापन गर्न भूउपयोग ऐन निर्माण गरेको र त्यसमार्फत जमिनको वर्गिकरण र भूमि बैंकको अवधारणा ल्याउन लागेको बताउनुभयो । अब जग्गाको कारोबार गर्ने सरकारी निकाय चाहिन्छ भन्ने उद्देश्यले भूमि बैंकलाई जग्गाको कारोबारसमेत गर्ने गरी काम अगाडि बढाइएको बताउनुभयो ।

मन्त्री अर्यालले सार्वजनिक सरकारी जग्गा जाँचबुझ आयोगले दिएको प्रतिवेदन अनुसार कूल ४ सय ४६ विगाहा ४३ रोपनी जग्गा फिर्ता गर्नुपर्ने बताउनुभयो ।

देशभर १३ लाख ३३ हजार ७ सय ८३ वर्गमिटर जग्गाको कारोबार रोक्का गरिएको, २६ हजार १ सय ७६ हेक्टरको पुनः नापि, गाउँ ब्लक र विशेष नापि गरिएको पनि मन्त्री अर्यालले जानकारी दिनुभयो । 

अहिलेसम्म १ सय ८ वटा मालपोत कार्यालय अनलाइनमा आधारित सेवा प्रवाह गर्ने बनाइसकिएकाे र बाँकी कार्यालयलाई पनि अनलाइन गरिने कार्यलाई तिब्रता दिइएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया