ए डिभिजन लिग : मच्छिन्द्र लिगकाे शीर्ष स्थानमा, थ्रीस्टार २-० ले पराजित

 माघ १३, २०७६ सोमबार १९:२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा उपाधिको दावेदार टिम मच्छिन्द्र क्लब फेरि शीर्ष स्थानमा उक्लिएको छ ।

जारी लिगमा छैटौं जित निकाल्ने क्रममा मच्छिन्द्रले थ्रीस्टारलाई दुई शुन्यले हरायो । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रको जितमा रजिन सुब्बा र विशाल राईले एक एक गोल गरे ।

खेलको ३७ औं मिनेटमा रजिन शुब्बाले मच्छिन्द्रका लागि अग्रता दिलाए । सुजलको पासलाई थ्रीस्टारका खेलाडीले क्लियर गर्न नसक्दा रजिनले गोल गरे । उनले याे गाेललाइ लेजेन्ड्री बास्केटबल खेलाडी काेबी ब्रायन्टलाइ समर्पित गरे ।

यसै सिजनमा मनाङको सेटलाई नै अनुबन्ध गरेको मच्छिन्द्रले ४० औं मिनेटमा अर्को सुन्दर अवसर पाएको थियो । तर रेजिनको हेडरलाई थ्रीस्टारका विक्रम लामाले गोललाइनबाट बचाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा थप एक गोल गर्‍याे । यो सिजन स्टार खेलाडी विना नै मैदानमा उत्रिएको थ्रीस्टारको डिफेन्डरको गल्तिका कारण ९० औं मिनेटमा मच्छिन्द्रले अन्तर दोब्बर पार्‍याे ।

उसका लागि विशाल राईले गोल गर्न सफल भए । त्यसपछि थ्रीस्टार खेलमा फर्कन सकेन र जारी लिगमा तेस्रो हार ब्यहोर्‍याे । यो हारले थ्रीस्टारको उपाधि यात्रामा ठुलो धक्का लागेको छ ।

जितपछि मच्छिन्द्रले त्रिभुवन आर्मीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । मच्छिन्द्रको नौ खेलमा १९ अंक भएको छ भने एक खेल कम खेलेको आर्मीको १७ अंक छ । थ्रीस्टारको नौ खेलमा १४ अंक छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया