ए डिभिजन लिग : रेलिगेशनबाट बच्न सरस्वतीलाई एउटा माैका

 माघ १४, २०७६ मंगलबार ८:५१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मङ्गलबार दुई वटा खेल हुँदैछ ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब खेल्दै छन् । दुवै खेल सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । 

बिहान साढे ११ बजे हुने पहिलाे खेलमा हिमालयन र सरस्वती खेल्दै छन् । अहिलेसम्म एउटा खेलमा पनि जित हात पार्न नसकेको सरस्वती क्लब लिगको पुछारमा छ ।

रेलिगेशनमा पर्ने निश्चित भएसकेको भए पनि बाँकी पाँच खेलमा राम्रो प्रदर्शन गर्न सके सरस्वती घटुवा हुनबाट बच्न सक्नेछ । सरस्वतीकाे आठ खेलमा जम्मा एक अङ्क छ । हिमालयन शेर्पा क्लब पनि रेलिगेशनको खतराबाट टरेको छैन । आठ खेल सकिँदा हिमालयन शेर्पा सात अङ्क बनाउँदै रेलिगेशन जोनभन्दा एक स्थानमात्र माथि छ । 

दिउँसो तीन बजे हुने खेलमा उपाधिको दाबेदार आर्मीले जावलाखेलसँग खेल्दैछ । आर्मी शीर्ष स्थानको मच्छिन्द्रभन्दा दुई अङ्कले पछि छ । जावलाखेललाई हराएमा आर्मीले लिगमा अग्रता लिनुका साथै उपाधि होड पनि प्रतिस्पर्धात्मक बन्नेछ ।

आठ खेल सकिँदा आर्मीले पाँचमा जित, दुई बराबरी र एक हारको नतिजा निकाल्दै १७ अङ्क बनाएको छ । 

जावलाखेल भने आर्मीलाई हराएर शीर्ष ६ मा पुग्ने लक्ष्यमा छ । आठ खेलबाट १२ अङ्क बनाएको जावलाखेलले याे खेलमा जित हात पारेको खण्डमा चौथो स्थानमा उक्लिनेछ । जावलाखेलले थ्री स्टारलाई पछि धकेल्नेछ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया