हटेन टिप्पर आतंक : ब्याक गरेर मान्छे मारेपछि बनेपा तनावग्रस्त

 साउन ७, २०७५ सोमबार १३:३९:४५ | कपिल कोइराला

काभ्रे –चारदोबाटोमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गए पछि बनेपा तनावग्रस्त बनेको छ । 

बा २ क ३९३४ नम्बरको टिप्परले बा ८३ प ५०७७ नं को मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार टिप्परको ठक्करबाट नमोबुद्ध नगरपालिका खनालचोकका ५७ वर्षीय जितबहादुर तामाङको ज्यान गएको हाे । 

प्रत्यक्षदर्शीका अनुसार पहिला ठक्कर दिँदा मोटरसाइकलबाट लडेर सामान्य घाइते उनलाई पुनः टिप्परले किचेको थियो । चारदोबाटोमा मोबाइल पसल सञ्चालन गर्दै आएका मधुर दाहालका अनुसार टिप्पर चालकले आफ्नो साइडको ढोका खोलेर हेरेर पुनः किचेको बताउनुभयो । ‘पहिला टिप्परले ठक्कर दियो, सामान्य लडेका मोटरसाइकल चालकलाई टिप्पर चालकले आफ्नो साइडको ढोका खोलेर किचिन्छ कि किचिदैन भन्दै हेरेर पुनः किच्यो’, दाहालले भन्नुभयो । 

मृतकलाई शीर मेमोरियल अस्पतालमा राखिएको छ । आक्रोशित भिडले ट्रिपर चालकलाई कुटपिट गरेका छन भने टिप्परमा आगजनी गरेका छन् । 

टिप्पर चालक नुवाकोट जिल्लाको बिदुर –१, का २९ वर्षीय सुधन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटना बढ्यो भन्दै उपत्यकामा दिउँसो टिप्पर चल्न नदिने सरकारको निर्णयपछि त्यसको प्रत्यक्ष असर काभ्रेमा परेको छ । काभ्रेमा पनि दिउँसोको समयमा चल्न नदिने माग स्थानीयले गरेका छन् । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • अनिल श्रेष्ठ

    July 23, 2018, 4:46 p.m.

    अझै हामी मोटरसाइकल चालक कति दिन असुरक्षित हो त आखिर ट्रिपर आतंक कहिले सम्म ठूलो सवारी साधनको पेलाई मै बस्नु पर्ने हो मोटरसाइकल चालक चै।। जान्ता जान्न चाहन्छ

  •  0 Reply
  • Gyan bahadur tamang

    July 23, 2018, 3:54 p.m.

    अत्याचार हुन लागेको हो त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया