राष्ट्रपति भण्डारीद्वारा पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा अनावरण

 माघ १५, २०७६ बुधबार १२:१३:१८ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा – हेटौँडाको शहीद स्मारकमा मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा अनावरण गर्नुभएको हो । 

स्मारकमा विभिन्न कालखण्डमा शहीद भएका १२ जनाको एउटै ढुङ्गामा कुँदिएको मुखाकृत स्तम्भ र जननेता मदन भण्डारीको प्रतिमामा पनि उहाँले माल्यापर्ण गर्नुभयो । 

शहीद सप्ताहको सातौँ कार्यक्रमअन्तर्गत मङ्गलबार प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाको अनावारण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी हेटौँडा पुग्नुभएको थियो । 

कार्यक्रमकै अवसरमा राष्ट्रपति भण्डारीले हेटौँडामा पर्यटन प्रवद्र्धन गर्न भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनु भयो । 

उहाँले हेटौँडाको शहीद स्मारक सबैको साझा थलोका रुपमा विकास भएको भन्दै खुशी व्यक्त गर्नुभयो । स्मारकको थप सुधार गर्नका लागि उहाँले शुभकामना समेत व्यक्त गर्नुभयो । 

शहीद स्मारक विकास समितिले झण्डै डेढ करोड रुपैयाँ खर्च गरेर शालिक निर्माण गरको जनाएको छ । यसअघि शहीद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण शहीदलाई एकै थलोमा स्मरण गर्न ६५ फिट अग्लाे शहीद स्मृति स्तम्भ निर्माण गरिएको थियो । त्याे स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गर्नु भएको थियो । 

स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसङ्घर्षमा शहीद भएका १२ जना शहीदको एउटै ढुङ्गामा मुखाकृत कुँदिएको छ ।

विसं २०४६ सालको जनआन्दोलनपछि २०४७ साल साउन ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी शहीद स्मृति बाटिका नामाकरण गरिएको थियो । विसं २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको शहीद स्मारक देशकै नमुना शहीद केन्द्र बन्न पुगेको छ ।

यहाँ बर्सेनि पाँच लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको समितिका सचिव न्यौपानेले दाबी गर्नुभयाे । स्मारकमा यसअघि नै नेता मदन भण्डारीको पनि प्रतिमा निर्माण भैसहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया