प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काममा खटिने श्रमिकलाई ७ लाखको बीमा

 माघ १५, २०७६ बुधबार १३:४८:३५ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काममा खटिने श्रमिकलाई सात लाखको सामूहिक कार्यस्थल बीमा गरिएको छ । 

कार्यक्रममार्फत पालिकामा रहेका रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरु मध्येबाट सय दिनको न्यूनतम रोजगारीमा खटिने श्रमिकका लागि सामूहिक कार्यस्थल सुरक्षा बीमा गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

सुरक्षा बीमा नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा प्रतिव्यक्ति बिमाङ्क रकम सात लाख रुपैयाँ रहेको छ । श्रमिक काममा नियुक्ति  भएको दिनदेखि नै बीमा लागू हुने र एकसय दिनसम्म कायम रहने छ । 

कार्यक्रम अवधिभर न्यूनतम रोजगारीमा खटिने कुनै श्रमिकको मृत्यु भएमा सात लाख रुपैयाँ पाउनेछन् । यस्तै अशक्त भएमा, शारीरिक अशक्तताको अवस्था अनुसारको सुविधा रकम तथा दुर्घटना भई उपचार गराउनु परेमा बढीमा एक लाख रुपैयाँसम्मको औषधोपचार सुविधा प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

कार्यक्रम यो वर्ष यही माघ १ गतेदेखि २०७७ असार मसान्तसम्म कायम रहनेछ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया