तीन जिल्लाको व्यक्तिगत आवास पुनर्निर्माणको काम तीव्र

 साउन ७, २०७५ सोमबार १४:५६:३६ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा–  माथिल्लो सगरमाथाका तीन जिल्लामा भूकम्पपछिको पुनर्निर्माणले गति लिएको छ ।

ओखलढुंगासँगै खोटाङ र सोलुखुम्बुमा व्यक्तिगत आवास पुनर्निर्माणको कामले तीव्रता पाएको छ । ०७२ सालको भूकम्पमा परेर अति प्रभावित जिल्लामा परेको ओखलढुंगा र सामान्य प्रभावितमा रहेका खोटाङ र सोलुखुम्बुमा व्यक्तिगत आवास निर्माण चलिरहेको छ । ओखलढुंगामा ०७३ साल र खोटाङ तथा सोलुखुम्बुमा ०७४ चैतदेखि पुनर्निर्माणको कार्यालय स्थापना भई काम सुरु भएको थियो ।

ओखलढुंगामा घर पूर्ण क्षति भएका २१ हजार १ सय २२ घरमध्ये अहिले १७ हजार ४ सय २७ घर निर्माणाधिन अवस्थामा छन् । उनीहरुले दोस्रो किस्ता रकम समेत लिइसकेका छन् । त्यस्तै ९ हजार ७ सय ५६ घर निर्माण सम्पन्न भई बसोबास सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ओखलढुंगाका सूचना अधिकारी सुनिता अधिकारीले बताउनुभयो ।

‘केही समस्या भए पनि व्यक्तिगत आवास पुनर्निर्माणको काम भइरहेको छ, विस्थापितलाई स्थानान्तरण गर्ने काम पनि सुरु गरेका छौं’, अधिकारीले भन्नुभयो । भूकम्पपछिको पहिरोबाट ओखलढुंगामा विभिन्न १२ गाउँका १ सय ४८ परिवार जोखिममा छन् । 

खोटाङ र सोलुखुम्बुमा पुनर्निर्माण दोस्रो चरणमा सुरु भएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) स्थापना भएको तीन महिनामै अनुदान सम्झौता सम्पन्न भई दोस्रो किस्ता समेत वितरण सुरु भइसकेको छ । खोटाङमा अनुदान प्राप्त गर्न योग्य पुनर्निर्माण लाभग्राही ८ हजार ४ सय ४३ मध्ये ८ हजार २ सय ७१ ले अनुदान सम्झौता भइसकेको छ ।

सम्झौता गरेका  ८ हजार २ सय ८ परिवारले पहिलो किस्ता लिइसकेको छन् । २ हजार ४ सय ४९  र तेस्रो किस्ता ४ जना जनाले दोस्रो किस्ता अनुदान लिइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) खोटाङका प्रमुख सागर आचार्यले बताउनुभयो ।  आचार्यले भन्नुभयो, ‘धेरैले भूकम्प गएपछि घर बनाए, मापदण्ड र अनुदान वितरणपछि भयो, यसले समस्या छ ।’ उहाँका अनुसार कार्यालय ढिला स्थापना हुनु, मापदण्डबारे लाभग्राही सचेत नहुनु लगायतका कारणले केही समस्या आए पनि आवास पुनर्निर्माण तीव्र गतिमा भईरहेको छ । 

सोलुखुम्बुमा पनि खोटाङसँगै अनुदान वितरण सुरु गरिएको हो । जिल्लामा पहिचान भएका ११ हजार ९ सय ८८ मध्ये ११ हजार २ सय २८ जनाले अनुदान सम्झौता गरी पहिलो किस्ता समेत लिएका छन् ।

कार्यालयका प्रमुख भोजनारायण राजभण्डारीका अनुसार १ हजार ६ सय १० जनाले पहिलो किस्ता र ७६ जनाले दोस्रो किस्ता लिएका छन् । प्रवलीकरणमा सूचीकृत भएका ४ सय ५६ मध्ये  ३ सय ३९ जनाले सम्झौता गरेर अनुदानको पहिलो किस्ता लिईसकेको राजभण्डारीले बताउनुभयो । 
किस्ता वितरण सुस्त
पुनर्निर्माणको काम तीव्र भए पनि दोस्रो र तेस्रो किस्ताको अनुदान वितरणमा भने सुस्तता देखिएको छ । लाभग्राहीले घर बनाई सके पनि सबै किस्ता पाएका छैनन् । कहिले नाम फरक परेर आउने, कहिले समयमा प्राविधिकले घर नहेर्ने त कहिले उस्तै किसिमिका घर पास हुने कतै नहुने समस्या देखिएको छ ।

ओखलढुंगामा दोस्रो किस्ता सिफारिस गरेका दुई सयभन्दा बढीले रकम पाएका छैनन् । विवरण फरक पर्दा उनीहरुले अनुदान लिन ढिलाई भइरहेको छ । ‘०७४ चैतमा घर सकेर सरेको दोस्रो किस्ता बल्ल असार मशान्तमा पाए, तेस्रो कहिले पाउने हो पत्तो छैन’, अनुदानको किस्ता लिन बैंक आएका चिसंखुगढीका कुमार ढुंगानाले भन्नुभयो ।

ओखलढुंगामा अधिकांश घरहरु निर्माण सकिए पनि गाउँमा खटिएका प्राविधिक र जिल्लाका विभिन्न निकाय हुँदै अनुदान लिन अनुदान व्यवस्थापन र स्थानीय पूर्वाधारमा आइपुग्दा ढिला हुने गरेकाले लाभग्राहीलाई समस्या पर्ने गरेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया