कांग्रेसले च्याँखे थापेर कम्युनिष्ट सरकारको रौँ पनि हल्लिदैन : मुख्यमन्त्री गुरुङ

 साउन ७, २०७५ सोमबार १८:२०:३३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्याग्रह बस्दैमा कम्युनिष्ट सरकार नझुक्ने प्रतिकृया दिनुभएको छ ।

आइतबार नवलपरासी पूर्वको कावासोतीमा  नेकपाको आयोजनामा भएको पुष्पलाल स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले कांग्रेसले च्याँखे थापेर कम्युनिष्ट सरकारको रौँ पनि नहल्लिने दावी समेत गर्नुभयो ।

मुख्यमन्त्री गुरुङले संसदीय प्रणालीले नै बहुमतको सरकारलाई दिएको अधिकार कम्युनिष्ट सरकारले प्रयोग गर्दा कांग्रेसले बखेडा खडा गरेको  आरोप लगाउनुभयो । मुख्यमन्त्री गुरुङले भन्नुभयो,  ‘उ एक तिहाईको अल्पमतमा छ, हामी दुईतिहाईको बहुमतमा छाैँ ।  अनि हाम्रो सरकारले जनताको यो अभिमतलाई प्राप्त गरेर काम गर्न पाउने कि नपाउने ? विधेयक हामीले भने जस्तो बनाउने कि कांग्रेसले  जे भन्छ त्यही बनाउने  ? अल्पमतको शासन कतै हुन्छ ?’

मुख्यमन्त्री गुरुङले थप्नुभयो, ‘कांग्रेसले गोविन्द केसीलाई उठाएर भन्यो ल यो विधेयक बनाउ भनेर हुन्छ ? यस्तो कुरा कम्युनिष्ट पार्टीले सुन्दैन । कुनै व्यक्ति सत्याग्रहमा बस्दैमा कम्युनिष्ट सरकारले आफ्नो सिद्धान्त त्यागेर त्यसको पछिपछि लागेर विधेयक बनाउने हो भनेदेखि गोविन्द केसीलाई प्रधानमन्त्री बनाइदिनु नि शेरबहादुर देउवाले  । किन तपाईँ बेलाबेलामा प्रधानमन्त्री बन्ने रहर गर्नुहुन्छ ?’

कम्युनिष्ट सरकारले देशमा राम्रो काम गर्न लागेकाले कांग्रेस डराएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । 

सरकार निर्माण भएको एक वर्ष पनि नहुँदै कांग्रेसले सकारात्मक भन्दा पनि नकारात्मक प्रतिपक्षको  भूमिका निर्वाह गर्नतर्फ लागेको आरोप मुख्यमन्त्री गुरुङले लगाउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया