चिसोमा हातखुट्टा फुट्ने र सुन्निने समस्या भए यसरी बचाैँ

 माघ २०, २०७६ सोमबार १२:४६:४५ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ – चिसो मौसममा हातखुट्टा फुट्ने, सुन्निने जस्ता समस्याले निक्कै सताउँछ । 

यसरी हातखुट्टा सुन्निने, खुला छाला चिसो हुने, रातो फोका आउँने, छालामा निलो, रातो डाम देखिने समस्यालाई पर्निओसिस भनिन्छ । यस्तो समस्या पुरुषमाभन्दा महिलामा बढी देखिने गर्छ । 

घरमा काम गर्ने बढी भाडा माझ्नुपर्ने, लुगाधुने वा पानी धेरै चलाउनुपर्ने महिलामा यो समस्या बढी मात्रामा देखिन्छ । बिहान स्कुल तथा कलेज जानेहरुमा पनि यो समस्या धेरै हुन्छ । हातखुट्टा, कान, नाक, गाला लगायत कपडाले नछोपिने भागमा पार्निओसिसको असर बढी देखा पर्छ ।  

कुनै निश्चित उमेर समूहभन्दा पनि धेरै चिसोपानी चलाउने र चिसो हावामा हिँड्दा यो समस्या हुन्छ  ।

पोर्निओसिस हुने कारण 

चिसोमा रक्तसञ्चार नली खुम्चिएर रक्तसञ्चारमा कमी आई छालाको रङ परिवर्तन हुन्छ । लुपस बाथको बिरामीलाई पनि यो समस्या हुन्छ । नसा खुम्चिएर रक्तसञ्चारमा अवरोध आई रगत बग्ने, सानासाना नलीहरु खुम्चिन्छन् ।

रक्तसञ्चारमा गडबडी मुटुरोगका बिरामीमा बढी देखिन्छ । कुनै–कुनै मानिसलाई एलर्जीको कारण पनि यो समस्या देखिने गर्छ ।

लक्षण 

– सुरु हुँदा चिलाउने, सुन्निने निलो, रातो डाम देखिने हुन्छ । 

– कपडाले नछोपिएको शरिरको विभिन्न भागमा चिलाउने हुन्छ । 

– चिसो लागेको भागमा चिलाउनुका साथै पोल्ने, सुन्निने, दुख्ने, घाउ हुने हुन्छ ।  

– बिस्तारै छालाको रङ परिवर्तन हुन्छ, छाला रातो र गाढा निलो हुने गर्छ । 

– छालामा पानीको फोका आउने गर्छ । 

– त्यसलाई स्याहार नगरेमा बिस्तारै फोका फुटेर घाउ हुने गर्छ ।

– यदि समयमा उपचार गरिएन भने हातखुट्टाका औंला झर्न सक्छ ।

– बंशाणुगत रुपमा पनि सरेर आउने हुन्छ ।

बच्ने उपाय  

जाडोको समयमा यस्तो समस्या देखा पर्नेहरुलाई हरेक जाडो याममा पोर्निओसिसको समस्या दोहोरिने गर्छ । एक पटक उपचार गरेर निर्मूल पार्न सकिन्न ।  यो समस्यालाई घरमा नै उपचार गर्न पनि सकिन्छ । 

– चिसो पानी नचलाउने

– तातो पानी मात्रै प्रयोग गर्ने

– चिसो हावाबाट जोगिने, मोजा पञ्जा लगाएर बस्ने 

– घरमा बस्दा खुला कोठामा हिटर बालेर वा आगो तापेर न्यानो भएर बस्ने 

–  नियमित रुपमा हातमा मोस्चराईजिङ क्रिम लगाउने 

उपचार 

चिसोबाट बच्नु नै यसको उपचार हो । यदि चिसोबाट जोगाउँदा पनि समस्या कम भएन भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । डाक्टरको सल्लाहअनुसार खाने र लगाउने औषधिको प्रयोग गर्न सकिन्छ ।

(शिक्षण अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डाक्टर सुदिप पराजुलीसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित) 
 

अन्तिम अपडेट: चैत १३, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया