केपी ओली नेतृत्वकाे सरकार सही बाटाेमा छ, नेकपाको आकाश सफा छ, धरती उर्बर छ : मन्त्री भट्टराई

 माघ २०, २०७६ सोमबार १६:३६:३८ | रासस
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताउनु भएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँले साेमबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार गलत बाटोमा नरहेको दाबी गर्नुभयो ।मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको बताउँदै भन्नुभयो, 'सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै अगाडि बढ्नुपर्छ ।' 

मन्त्री भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको सङ्ज्ञा दिँदै उहाँको नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्ने पनि बताउनु भयो ।   

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनु भएका मन्त्री भट्टराईले नेकपाको आकाश सफा र धरती उर्बर रहेको बताउनु भयो । पार्टी एकीकरणलाई भावनात्मक बनाउन भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठक सफल भएको भन्दै उहाँले बैठकले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन सफल भएको चर्चा गर्नुभयो ।

'बैठक अगाडि नेकपाको आकाशमा केही बादलहरु थिए, हावाहुरी पनि चलेको थियो', मन्त्री भट्टराईले भन्नुभयो, 'बैठकले ती बादलहरु सफा गरिदिएको छ, नेकपाभित्र अब हावाहुरी चल्नेवाला छैन, नेकपाको आकाश सफा छ, धरती उर्बर छ ।' 

केन्द्रीय कमिटी बैठकले तीन महिने अभियान घोषणा गरेको जानकारी गराउँदै उहाँले अभियानमा सबै नेताहरु गाउँ फर्कने र कार्यकर्ताको समस्या सुन्ने बताउनु भयो । अभियानमार्फत पार्टीभित्रका समस्या समाधान गरिने मन्त्री भट्टराईले बताउनु भयो । 

विसं २०७७ को चैत महिनामा पार्टीको महाधिवेशन घोषणा गरिएको र त्यसले पार्टीलाई थप मजबुत बनाउने उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले पार्टीको महाधिवेशनलगत्तै तीन तहको चुनाव हुने भएकाले तीन वटै तहको चुनावमा अहिलेको भन्दा पनि राम्रो परिणाम निकाल्न सबै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयाे । उहाँले बहुमत प्राप्त सरकार भएकाले जनताको अपेक्षा धेरै रहेको र त्यसलाई पूरा गर्न सरकार लागिपरेको दाबी गर्नुभयाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया