ढुंगेललाई आम माफी नदिन माग गर्दै सर्वोच्चमा रिट

 जेठ १०, २०७५ बिहिबार २०:९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १० – रिटकर्ताले सोधे ‘न्यायाधीशको फिला चिर्छु’ भन्ने ढुंगेलको चालचलन कसरी असल ?

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई माफी दिएर जेलबाट निकाल्ने तयारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चको आदेशमा जेल गएका र प्रधानन्यायाधीशसहित सर्वोच्चकै न्यायाधीशलाई भौतिक आक्रमण गर्ने धम्की दिएका व्यक्तिलाई चालचलन असल भएको बहानामा जेलमुक्त गर्ने तयारी भइरहेकाले त्यसलाई रोक्न माग गर्दै निवेदन रिट दर्ता गर्नुभएको हो ।

गम्भीर अपराधमा संलग्न रहेको पुष्टि गर्दै सर्वोच्चले जन्मकैदको फैसला सुनाएका ढुंगेलले सर्वोच्चको आदेश लगत्तै प्रधानन्यायाधीश र त्यो आदेश दिने न्यायाधीशका तिघ्रा चिरिदिने भाषण गरेको उल्लेख गर्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

ढुंगेललाई जेलमुक्त गर्नु बदनीयतपूर्ण गैरकानूनी रहेको दावी गर्दै रिट दायर गरेको र रिटको पेशी भोलिका लागि तोकिएको त्रिपाठीले उज्यालोलाई जानकारी दिनुभयो । ढुंगेलको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्रिपाठीले नै रिट दायर गरेपछि सर्वोच्चले ७ दिनभित्र ढुंगेललाई पक्राउ गर्न आदेश दिएको थियो ।

कारागार व्यवस्थापन विभागले आचरण राम्रो भएको भन्दै गणतन्त्र दिवसका दिन ढुंगेललाई जेल मुक्त गर्न सिफारिश गरेको छ । विभागको सिफारिश मन्त्रीपरिषदमा पेश गर्ने तयारी छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया