सानै उमेरमा गर्भवती हुने किशोरीको संख्या बढ्दो

 साउन ८, २०७५ मंगलबार ८:५६:१६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – कलिलै उमेरमा गर्भवती हुनेको किशोरीको संख्या बढ्दो रहेको एक तथ्यांकले देखाएको छ । विशेषगरी ग्रामीण क्षेत्रका दलित र जनजाति समुदायका किशोरीहरु सानै उमेरमा वैवाहिक जीवनमा बाँधिने र गर्भवती हुने गरेको लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ ।     
 
जिल्ला सामुदायिक अस्पताल लमजुङका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा अस्पतालबाट १ हजार १ सय ९० जनाले प्रसुती सेवा लिएको थिए । जसमा २० वर्षभन्दा कम उमेरका ३ सय ६३ जना रहेका छन् ।    

आर्थिक वर्ष २०७३÷७४ मा १ हजार २ सय २ जनाले प्रसुती सेवा लिएको थिए । जसमा २ सय २५ जना २० वर्षभन्दा कम उमेरकै थिए । 

यस्तै आर्थिक वर्ष २०७२÷७३ मा १ हजार २ सय २५ जनाले प्रसूति सेवा लिइएकोमा २ सय ५६ जना २० वर्षभन्दा कम उमेरका रहेको पनि अस्पतालको तथ्यांकमा उल्लेख छ ।

२० वर्षभन्दा कम उमेरमा गर्भवती भएका महिलाहरूको विवाह भने १६ देखि १८ वर्षको उमेरमा हुने गरेको छ । 

अस्पतालमा प्रसुती सेवाका लागि आउने महिलाहरूको तथ्यांकमा प्रसुती गराउने मध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत युवराज देवकोटाले बताउनुभयो । 

नेपालको कानुनमा उल्लेख गरिएअनुसार २० वर्षअघि विवाह गर्न बन्देज छ । तर लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसुती गराउन आउने ३१ प्रतिशत महिला २० वर्षभन्दा कम उमेरकै रहेको अस्पतालको तथ्यांकले देखाउँछ । 
  
‘सानो उमेरमा गरिने विवाहले महिलाहरूको स्वास्थ्यमा पनि असर पर्छ । यसतर्फ सचेत गराउन स्वास्थ्य शिक्षाबारे विद्यालय तहमै बढी जानकारी गराउनु आवश्यक छ । समुदायमा चेतना जगाउन आवश्यक छ,’ जिल्ला सामुदायिक अस्पताल लमजुङकी स्त्रीरोग विशेषज्ञ डा. सिर्जना हमालले भन्नुभयो ।     

अन्तिम अपडेट: चैत २५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया